close

सरकारी कार्यालय नै नगरपालिकाकाे कब्जामा

आफ्नाे भवन खाली राखेर कृषि कार्यालयमा हैकम

सरकारी कार्यालय नै नगरपालिकाकाे कब्जामा

आफ्नाे भवन खाली राखेर कृषि कार्यालयमा हैकम

Trulli
ADVERTISEMENT

बाग्लुङ- बाग्लुङ नगरपालिकाले २ वर्षअघि कब्जा गरेको तत्कालीन जिल्ला कृषि विकास कार्यालयको भवन कुनै पनि हालतमा नछाड्ने बताएको छ । गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयले भवन खाली गर्न नगरपालिकालाई निर्देशन दिए पनि कार्यान्वयन गरेको छैन । 


नगरप्रमुख जनकराज पौडेलले सार्वजनिक काम र जनताको सेवाका लागि कार्यालय प्रयोजनमा ल्याइएकाले खाली नगरिने बताए ।

 

प्रदेश कृषि मन्त्रालयले भवन खाली गरेर त्यहाँ कृषि ज्ञान केन्द्र स्थापना गर्ने भनेपछि मुख्यमन्त्री कार्यालयले पनि खाली गरिदिन पत्राचार गरेको थियो । ६ पुसमा भवन खाली गरिदिने पत्र नगरपालिकामा आएको प्रमुख पौडेलले जानकारी दिए ।


२ वर्षअघि रातमाटामा रहेको नगरपालिकाको कार्यालय कृषिको भवनमा जबर्जस्ती सारेपछि त्यहाँ रहेका कागजात र सामग्रीसमेत हिनामिना भएको टिप्पणी भएको थियो । सरकारी निर्णयले कृषि कार्यालय आउने भएपछि किसान खुसी भए पनि नगरपालिकाले भवन नछाड्ने भएको हो । 

 

‘हामीले पत्र पायौँ । कार्यालय आउने भएपछि खुसी पनि लाग्यो’, पौडेलले भने, ‘उक्त कार्यालयका लागि उपयुक्त भवनको खोजीमा छौँ ।’


नगरपालिकाले आफ्नो सेवा यहीँबाटै दिने र कृषिलाई कुनै अन्य भवन खोजी दिने उनले दाबी गरे । ‘हामीले कब्जा गरेका थिएनौँ बरु आवश्यकता परेर बसेकाले छाड्ने कुरै भएन’, उनले भने, ‘अहिले पनि नगरपालिकाको सेवा नपुगेर ५ ठाउँबाट दिइरहेको बेला सरेर कता जाने ?’

 

रातमाटामा रहेको आफ्नै भवन भने नगरपालिकाले खाली छाडेको छ । स्थानीय सरकार सञ्चालन ऐनअनुसार जिल्ला समन्वय समितिको अनुमति र समन्वयले कृषि भवनमा सरेकाले नगरपालिका अन्यत्र नजाने उनको टिप्पणी छ ।

 

भवन सरेपछि रातमाटाबासीले नगरपालिकाविरुद्ध मुद्दासमेत दिएका छन् । कृषि ज्ञान केन्द्र पर्वतमा मात्रै रहेको र सम्पर्क कार्यालय रहेकाले नगरपालिकाले २ वर्षअघि पुसमै आफ्नाे कार्यालय कृषि भवनमा सारेको थियो ।


‘कृषि कार्यालय आएकाले हामीले प्राविधिक ज्ञान र सेवा पाउने भयौँ’, मिर्मिरे कृषि सहकारी संस्थाका अध्यक्ष गंगाबहादुर थापाले भने, ‘आएको कार्यालयलाई समयमा व्यवस्थापन गर्न सकियो भने कृषि क्षेत्रमा धेरै सफलता पाउन सकिन्छ ।’ 

 

कृषि कार्यालयमा उपसचिवसरहको वरिष्ठ कृषि विकास अधिकृतसहित अधिकृत र अन्य कर्मचारीको व्यवस्थापन भइसकेको छ ।