close

छ्वालीको टहरामा काउली फुलेपछिको खुसी 

छ्वालीको टहरामा काउली फुलेपछिको खुसी 

Trulli
ADVERTISEMENT

भक्तपुर- आँखाले चियाउँदा नभ्याउने फाँट । कुनैमा जस्तापाता त कुनैमा प्लास्टिकका टहरा । कुनैमा पराल अनि छ्वालीको छानो । केही टहरामा काउलीका दाना मुस्कुराउँदै छन् त कतै टहरामा कुखुरापालन गरिएको छ । यी दृश्य देखेर दिनभरिको थकाइ भुलेर मुस्कुराउँछन्, उनीहरूका अभिभावक अर्थात् कर्मशील कृषक । 

 

यो दृश्य भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवस्थित एउटा कृषि फार्मको हो । वडा नम्बर- ७ बागिश्वरीमा रहेको यो फार्ममा दैनिक तरकारी मात्र नभई दूधसँगै मासु अनि अन्डासमेत उत्पादन हुन्छ । २ जनाबाट संचालित पिपुल्स एग्रिकल्चर फार्म एन्ड रिसर्च सेन्टरमा दैनिक ६ जनाले रोजगारी पाएका छन् ।


२८ रोपनीमा फैलिएको फार्मले तरकारी मात्र होइन, दैनिक ३०० लिटर दूध, मासुका लागि कुखुरा, अन्डा तथा उब्जाउ भूमिका निम्ति गँड्यौलासमेत उत्पादन गर्दै आएको छ । 

 

उत्पादित कृषि सामग्री भक्तपुरको स्थानीय बजारमा मात्र होइन, राजधानी काठमाडौंका बजारमा समेत पठाउने गरिएको छ । फार्मबाट मासिक १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी हुने म्यानेजर शेखर कार्की सुनाउँछन् ।


‘उत्पादित तरकारी तथा दूध सिधै काठमाडौं लैजान्छौँ । त्यहाँ पनि हाम्रै डेरी छ’, उनले भने, ‘हामीले २१ वटा गाई, ५ वटा टहरामा कुखुरा, एउटा टहरामा गँड्यौला खेती र बाँकीमा तरकारी खेती गरेका छौँ । माछापालनका लागि तयारी गरेका थियौँ तर लकडाउनका कारण गर्न सकेनौँ ।’

 

फरक क्षेत्रमा फरक व्यक्तिले काम गर्ने गर्छन् । तरकारी खेतीका लागि २ महिला, गाई हेर्न २ युवा, कुखुराका निम्ति २ युवा दैनिक खटिने गर्छन् । फार्ममा गोलभेँडा, काउली, फूलका साथै अन्य खेतीसमेत गरिएको छ । यहाँ प्रत्येक वर्ष ४ बाली तयार हुने गर्छ । 

 

फार्मको खेती चक्र 

 

२८ रोपनीमा फैलिएको यस फार्ममा सबैभन्दामाथि गाई पालन गरिएको छ । गाईबाट आउने मलखाद तरकारी खेतीभन्दा माथि गरिएको छ । मलको झोललाई प्रयोग गर्न मिल्ने गरी कुलो बनाई तरकारी खेतीमा लगिएको छ ।

 

तरकारी खेतीबाट आएको झार तथा पात गाईलाई खुवाउने गरिन्छ ।

 

गँड्यौलाको टहरा मलखादसँगै बनाइएको छ । कुखुराका लागि छुट्टै ५ वटा टहरा बनाइएको छ, जहाँ अन्डा पार्ने र बेच्न तयार भएका चल्ला राखिने गरेको छ ।