close

उद्योग संचालनमा वडाध्यक्ष नै बाधक !

उद्योग संचालनमा वडाध्यक्ष नै बाधक !

Trulli
ADVERTISEMENT

बागलुङ– बाग्लुङको काठेखोला वडा नम्बर २ का एक युवाले उद्योग सञ्चालनका लागि ५ महिनादेखि सुरु गरेको प्रक्रिया वडाध्यक्षले सिफारिस नगरिदिँदा अन्योलमा परेको छ ।

 

काठेखोलाको वडा नम्बर २ भीमापोखराका विष्णु थापाले बागलुङ नगरपालिका वडा नम्बर ४ का वडाध्यक्षले सिफारिस नदिँदा उद्योग खोल्न नपाएको गुनासो गरेका हुन् । थापाले ब्लक उद्योग खोल्न आवश्यक कागजात पुर्‍याए पनि वडाध्यक्षले सिफारिस नबनाएकै कारण काम अगाडि बढाउन नसकेको बताए ।


वडाध्यक्ष धु्रवबहादुर केसीले प्रक्रिया पुगेर पनि अनुमति नदिएको उनले आरोप लगाए । ‘मैले सबै कागजात पु¥याएर उद्योग खोल्न लाग्दा अनुमति पाइनँ’, थापाले भने । वडा कार्यालयले मुचुल्का नबनाएसम्म घरेलु र नगरपालिकामा उद्योग दर्ता नहुने प्रावधान छ ।

 

थापाले वडा नम्बर ४ मा काम गर्न नपाएपछि वडा नम्बर ३ मा त्यही कागजातले उद्योग सञ्चालन अनुमति पाएका थिए । गत साउनमा वडाध्यक्ष केसीले दर्ता नगरेपछि वडा नम्बर ३ मा पुगेर उद्योग दर्ता गरेका थिए ।

 

उद्योग सञ्चालनका लागि थापाले वडा नम्बर ४ को जग्गा भाडामा लिएका छन् । ‘मैले ५ महिनादेखि जग्गाको भाडा तिरिरहेको छु, उद्योग खोल्न मुचुल्का बनेन’, उनले भने, ‘अनुमति पाएर पनि सञ्चालन गर्न नपाएपछि लाखौँ रुपैयाँ नोक्सानी भइसकेको छ ।’

 

थापाले दिएको ठाउँसारीको सिफारिसमा केसीले आनाकानी गरेका हुन् । वडा नम्बर ३ बस्ती र बजार क्षेत्र हो । वडा नम्बर ४ मा उद्योग चलाउन जग्गा भाडामा लिएको उनले बताए ।

 

‘पटक–पटक मैले मुचुल्काका लागि अनुरोध गरे पनि वडाध्यक्षले मान्नुभएन’, उनले भने, ‘अनुमति नदिनुको कारण के हो भनेर सोध्दा पनि उत्तर पाइनँ ।’


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले सबै कागजात पुगेकाले अनुमतिका लागि मुचुल्का बनाइदिन आग्रह गरेको बताए । उद्योग सञ्चालनका लागि जग्गा भाडा सम्झौता, जग्गाधनी प्रमाणपुर्जा, पान नम्बर, बिलभर्पाइ बनाइसकेकालाई वडाले मुचुल्का दिनुपर्ने प्रावधान छ ।


नगरपालिकाले विदेशबाट फर्केर व्यवसाय गर्न खोज्नेलाई प्रोत्साहन र कर छुट दिने नीतिसमेत बनाएको छ । नीति कार्यान्वयन भए थापाले थप सहुलियत पाउन सक्छन् ।


वडाध्यक्ष केसीले मध्यपहाडी लोकमार्गको मापदण्डभित्रको जग्गा भएकाले सिफारिस दिन नसकिएको जानकारी दिए । जग्गाधनी हरिनारायण उपाध्यायले भने मापदण्ड छाडेपछिको जमिन भाडामा दिएको दाबी गरे । ‘नगरपालिकाले औद्योगिक ग्राम बनाएर उद्योगहरू चलाउने भनेकाले अब सबै उद्योग त्यतै लैजाने योजना राखेको छ,’ केसीले भने, ‘अर्को उद्योगीसँग झगडा पर्ने देखेर सिफारिस रोकेको हुँ ।’


उपल्लाचौरमा सञ्चालित अर्को उद्योगमा लेनदेन व्यवहार भएकाले विवाद भएको उनले दाबी गरे । नगरपालिकाले वडा नम्बर १३ को कालाखोलामा जग्गा लिएर औद्योगिक ग्राम बनाउने योजना अगाडि सारेको छ । तर, चालू वर्षका लागि बजेट नभएकाले अझै २ वर्षसम्म औद्योगिक ग्राम सञ्चालन हुने सम्भावना छैन ।