close

गुल्मीमा कोरोना परीक्षण सुविधा

गुल्मीमा कोरोना परीक्षण सुविधा

Trulli
ADVERTISEMENT

गुल्मी - गुल्मीमा कोभिड–१९ को परीक्षण हुने भएको छ । परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जिल्लामा स्थापना गरिएको कोभिड–१९ प्रयोगशालाको उद्घाटन गरेका हुन् ।


कार्यक्रममा मन्त्री ज्ञवालीले जिल्लामै कोरोना परीक्षण सहज भएपछि नागरिकलाई अन्यत्र जानु पर्ने बाध्यता हटेको बताए । उनले भने, ‘अझै पनि देशमा कोरोना संक्रमण बढिरहेको र सबै क्षेत्र खुला गरिएकाले प्रयोगशालाको आवश्यकता झनै बढेको छ । अब व्यक्ति आफैं सचेत बन्ने र सरकारले परीक्षणको दायरा फराकिलो बनाउनुको विकल्प छैन ।’


जिल्लाका १२ वटै स्थानीय तहको समन्वयमा प्रयोगशाला निर्माण गरिएको हो । जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सबै स्थानीयतहबाट प्रयोगशाला निर्माणका लागि आर्थिक सहयोग र समन्वय गर्ने निर्णय गरेको थियो । मन्त्री ज्ञवालीको पहलमा प्र्रयोगशालामा आवश्यक महत्वपूर्ण मेसिन हिमालयन एयरलाइन्सले प्रदान गरेको थियो । साथै, प्रयोगशालामा आवश्यक अन्य स्वास्थ्य सामग्री स्थानीय तहहरूले बेहोर्ने गरी रेसुंगा नगरपालिकाले समन्वय गरेर खरिद गरेको हो । 


प्रयोगशाला करिब डेढ महिना अगाडि नैै सञ्चालन गर्ने योजना रहे पनि पहिलेको पिसिआर मेसिनमा केही प्राविधिक समस्या देखिएपछि परीक्षण गर्न नसकिएको रेसुंगा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए । 


‘गुल्मेली नागरिककै हितकालागि ठूलो परिश्रम खर्चिएर प्रयोगशाला स्थापना गर्यौं,’उनले भने,‘अब यसलाई सबैको समन्वयमा सञ्चालन गर्ने हो ।’ रेसुंगा नगरपालिका–९ उपल्लो तम्घासमा रहेको पहिलेको महिला तथा बालबालिका कार्यालयमा प्रयोगशाला स्थापना गरिएको छ । सोही ठाउँमा यसअघि नगरपालिकाले आइसोलेसन सेन्टर सञ्चालन गर्दै आएको थियो । 


गुल्मी अस्पतालले प्रयोगशाला सञ्चालन गर्नेछ । जिल्ला संकट व्यवस्थापन समितिले प्रयोगशाला सञ्चालन कार्यविधि अनुमोदन गरेपछि गुल्मी अस्पताललाई प्रयोगशाला हस्तान्तरण गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्यालले जानकारी दिए।


प्रयोगशाला नियमित रुपमा सञ्चालन गर्न अझै केही दिनलाग्ने उनले बताए । अहिले प्रयोगशालामा प्रदेश प्रयोगशालाका लक्ष्मण पन्थी र गुल्मी अस्पतालका केपी भण्डारी गरेर २ जनामात्रै प्राविधिक छन् । प्रयोगशालामा १५ जना प्राविधिक तथा कर्मचारी आवश्यक पर्छ ।


आवश्यक प्राविधिक र कर्मचारीका लागि विज्ञापन गर्ने तयारी सुरु भएको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले बताए । आउँदो असोज ७ बाट नियमित स्वाब संकलन र परीक्षण गरिने उनको भनाइ छ ।