close

पातारासीका ३४ सय घरधुरी झलमल्ल 

पातारासीका ३४ सय घरधुरी झलमल्ल 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको ८ स्थानीय तहमध्ये पातारासी गाउँपालिकामा विद्युत् विस्तार तीव्र भएको छ । स्थानीय सरकारले कार्यभार सम्हालेपछि गाउँमा १५ वटा विद्युत् आयोजना निर्माण भई सञ्चालनमा आएका छन् ।


१५ देखि १ सय किलोवाटसम्मका १५ आयोजना निर्माण भई सञ्चालन भएपछि पातारासीका दुर्गम गाउँबस्ती अहिले झिलीमिली भएका हुन् । पातारासीलाई जिल्लाकै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा गाउँपालिका जुटेको छ ।

 
पातारासीमा ५८ किलोवाटको बिउरेनी विद्युत् आयोजना, २५ किलोवाटको लुम, २५ किलोवाटको तल्फी जलविद्युत्, ४५ किलोवाटको त्रिवेणी जलविद्युत्, २५ किलोवाटको माथिलोर्पा विद्युत्, रिनीमा ९ किलोवाट, पटमारामा १२ किलोवाट विद्युत् आयोजना निर्माण भएका हुन् । 


यस्तै, तलिलोर्पामा ५ किलोवाट, लाम्रीमा ९ किलोवाट, महरीमा ६ किलोवाटका आयोजना निर्माण गरी पातारासीमा १५ वटा विद्युत् आयोजना सञ्चालन भएका हुन् । १५ मध्ये ११ वटा विद्युत् आयोजनाबाट साढे २ सय किलोवाट बिजुली उत्पादन भइरहेको छ । घरमा बिजुली पुगेसँगै पातारासीका १७ हजारभन्दा बढी नागरिकले टुकीको भर पर्नुपर्ने बाध्यता हटेको छ । 


स्थानीय ताराबहादुर बोहरा भन्छन्, ‘विद्युत् पहुँच पुगेपछि झरो बाल्ने बाध्यता पनि हट्यो । बालबालिकाले सहज रूपमा पढ्न पाएका छन् । बन्द रहेका फर्निचर उद्योग तथा साना जडीबुटी उद्योग पनि सञ्चालन हुन थाले ।’

 
पातारासीले साढे ३ वर्षमै घरघरमा विद्युत् पहुँच विस्तार गर्न सफल भएको गाउँपालिका अध्यक्ष लछिमन बोहराले बताए । उनले भने, ‘हामीले विद्युत् क्षेत्रमा नमुनालायक काम गरेका छौँ । साढे ३ वर्षमा पालिकाभरिका करिब २७ बस्तीका ३४ सय घरधुरीलाई विद्युत् पहुँचमा पुर्‍याउन सफल भयौँ ।’ 


सडक, खानेपानी, कृषि, जडीबुटी क्षेत्रमा पनि प्रशस्तै काम भएको अध्यक्ष बोहराको दाबी छ । तर, देखिने खालको विकासको महसुस भने विद्युत् क्षेत्रमा भएको उनको धारणा छ ।

 
पातारासीका १ देखि ७ नम्बर वडाका बस्ती-बस्तीमा ५ देखि १ सय किलोवाटसम्मका विद्युत् आयोजना निर्माण भई सञ्चालनमा आएका छन् । पातारासीका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा भन्छन्, ‘पावर हाउसका कर्मचारीलाई तलब र मेसिन मर्मत खर्च सबै पालिकाले नै बेहोर्ने गरी गाउँपालिकाभरिका ३४ सय घरधुरीलाई निःशुल्क बत्ती दिने व्यवस्था गरेका छौँ ।’

 

पातारासीमा पानीको स्रोत पर्याप्त भएकाले स्थानीय सरकारको लगानी र प्राथमिकता पनि जलविद्युत् नै परेको छ । सोही कारण अन्य क्षेत्रको विकासभन्दा विद्युत् विस्तार प्रभावकारी देखिएको हो ।

 

१ मेगावाटको चुकेनी जलविद्युत् आयोजना निर्माणका लागि पातारासीले २ करोड रुपैयाँ सेयर लगानी गरेको छ । चालू आर्थिक वर्षमै जिल्लामै पहिलो उज्यालो पालिका घोषणा गर्ने तयारीमा जुटेको गाउँपालिका अध्यक्ष बोहराले जानकारी दिए । 

 

‘विद्युत् अवरुद्ध भएका १/२ बस्तीमा लाइन विस्तार तथा ट्रान्समिटर जडान अघि बढेको । निकट भविष्यमै पातारासी उज्यालो पालिका घोषणा हुँदै छ’, अध्यक्ष बोहराले खुसी बाँडे ।