close

लकडाउनले बन्द भएका नवलपुरका घरबास खुल्न थाले

लकडाउनले बन्द भएका नवलपुरका घरबास खुल्न थाले

Trulli
ADVERTISEMENT

नवलपरासी– कोरोना महामारीका कारण गरिएको लकडाउनपछि बन्द भएका नवलपुरका होमस्टे (घरबास) विस्तारै सञ्चालनमा आउन थालेका छन् ।


पूर्वी नवलपरासीमा करिब १ दर्जन होमस्टे छन् । आदिवासी जनजाति बाहुल्य रहेको क्षेत्र र पर्यकटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने क्षेत्रमा खालिएका होमस्टेले त्यस क्षेत्रको बासिन्दाका जीवनस्तर उकास्नमा सहयोग पुर्‍याउँदै आएको छ ।

 
नेपालकै उत्कृष्ट होमस्टेको रूपमा सूचीकृत पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १५ अमलटारीमा रहेको अमलटारी होमस्टे लकडाउनले बन्द भए पनि अहिले खुलेको छ ।


३१ घर थारु र बोटे समुदाय मिलेर खोलिएको अमलटारी होमस्टेमा लकडाउनपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको होमस्टे सञ्चालक समितिले जनाएको छ ।


होमस्टेमा अहिले दैनिक २०–२५ जना पर्यटक आउन थालेको र ठूलो संख्यामा पर्यटक आए पनि सोही अवस्थामा तयारीमा राखिएको अमलटारी होमस्टेका व्यवस्थापक धनीराम चौधरी बताउँछन् ।


यहाँबाट चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रभित्रका सामुदायिक वनमा जंगल सफारी गर्न सकिने, गैँडा, बाघ, हरिण, चित्तल, वनहात्तीसमेत सजिलै अवलोकन गर्न सकिन्छ ।


अमलटारी होमस्टे विगतको तुलनामा फरक शैलीमा सञ्चालन गर्न अमलटारी होमस्टेललाई प्राकृतिक रूप दिइएको छ ।


अमलटारी होमस्टेमा एउटा पाहुना गएर कोठा खाली हुनासाथ कोठालाई सेनिटाइज गर्ने, बिछ्यौना परिवर्तन गर्नेलगायत काम गरिएको होमस्टेका अध्यक्ष एवं कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले जानकारी दिए । पूर्वी नवलपरासीको कावासोतीमा मात्रै ४ वटा होमस्टे सञ्चालनमा छन् भने नवलपुरमा १ दर्जन हाराहारी होमस्टे छन् ।


गरिब तथा विपन्न परिवारको जीवनस्तर उकास्न र यहाँका आदिवासी जनजातिको कला–संस्कृतिमार्फत पर्यटक भित्र्याउन नवलपुरका स्थानीय सरकारहरूले होमस्टेको सम्भाव्यता रहेका क्षेत्रका स्थानीयसँग सहकार्यमा गरिरहेका छन् । होमस्टे खोल्न र सञ्चालनका लागि प्रोत्साहनस्वरूप सञ्चालनको सुरुमा आर्थिक सहयोगसमेत गर्दै आएका छन् ।