close

संस्कृत माविमा सुरु भयो हाइड्रो इञ्जिनियरिङको पढाइ, कालीकोटदेखि सुनसरीसम्मका विद्यार्थी पुगे पढ्न

संस्कृत माविमा सुरु भयो हाइड्रो इञ्जिनियरिङको पढाइ, कालीकोटदेखि सुनसरीसम्मका विद्यार्थी पुगे पढ्न

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्राविधिक विषय पढ्ने रहर कसलाई हुँदैन र ? त्यसमाथि संस्कृत पाठशालामा प्राविधिक विषय । सुन्दै रोचक लाग्ने यो दृश्य ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं.- ३ स्थित वासु मावि मेदिबुङमा देख्न सकिन्छ ।

 

२००८ सालमा संस्कृत भाषा पाठशालाको रूपमा स्थापना भएको वासु माविमा अहिले हाइड्रो इञ्जिनियरिङका विद्यार्थी धमाधम पढिरहेका छन् । माध्यमिक तहमा हाइड्रो इञ्जिनियरिङको पढाइ विरलै मात्रामा हुने गर्छ । तर, वासु माविले यस वर्षदेखि त्यो सौभाग्य पाएको छ । 


प्रायः मान्छेहरू उच्च शिक्षा अध्ययनका लागि दुर्गमबाट सुगम जिल्ला झर्ने गर्छन् । दुर्गम र हिमाली जिल्ला ठानिएको ताप्लेजुङबाट पनि उच्च शिक्षा अध्ययनका लागि सयौँ विद्यार्थी बर्सेनि राजधानीसहित सुगमका जिल्लाहरूतर्फ लाग्ने गर्छन् । तर, सुनसरीको बराह क्षेत्र नगरपालिका वडा नं.- ११ का विनोदकुमार यादव भने हाइड्रो इञ्जिनियरिङ पढाइका लागि ताप्लेजुङको फुङ्लिङस्थित वासु माविमा भर्ना भएर अध्ययन गरिरहेका छन् । 


राम्रो पढाइ हुने अवस्थामा उच्च शिक्षा अध्ययनका लागि सुगम जिल्ला झर्नै पर्छ भन्ने मान्यताविरुद्धको अभियान पनि हो विनोदकुमारको । सुगम क्षेत्र र तराई मूलको मान्छे हिमाली क्षेत्रको जनजीवनमा आएर अध्ययन गर्न अलिक कठिनाइ नै हुन्छ । तर, उनलाई यहाँको पढाइ मात्र होइन, मौसम र हावापानी पनि राम्रो लागेको छ । 


हाइड्रो इञ्जिनियरिङ पढिरहेका अर्का विद्यार्थी नवीन बराल जलस्रोतको धनी देश नेपालमा विद्युतीय कम्पनीमा काम गर्ने जनशक्ति बाहिरबाट खपत गर्नुपर्दाको दुःख मेट्न आफूहरूले अध्ययन सुरु गरेको बताए । उनले आफूले सुरु गरेको अध्ययनबाट प्राप्त प्राविधिक जनशक्ति यहीँ खपत हुने मनशाय व्यक्त गरे । 


विद्यालयका प्रधानाध्यापक रामचन्द्र दाहाल संस्कृत विषय पढाइ हुने पाठशालामा समय सापेक्ष प्राविधिक धारतर्फको अध्ययन पनि सुरु गर्न पाएकामा गौरवान्वित छन् । उनले पढाइका लागि सुनसरी र कालीकोटलगायतका क्षेत्रबाट विद्यार्थीहरू भर्ना हुन आएको समेत जानकारी दिए । 


फुुङ्लिङ नगरपालिका वडा नं.- ३ का वडा अध्यक्ष युवराज बराल सबै पालिकाले कम्तीमा एक-दुई जना विद्यार्थीलाई हाइड्रो इञ्जिनियरिङ पढाइका लागि अनुदान नै व्यवस्थापन गरे विद्यालय र पालिका दुवैको भविष्य देख्छन् । उनले नगरपालिकाका तर्फबाट प्राविधिक विषय पढाइ व्यवस्थापनका लागि थप भवन निर्माणलगायतमा सहयोग गर्ने बताउँछन् ।