close

बेनी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट

बेनी अस्पतालको आफ्नै अक्सिजन प्लान्ट

Trulli
ADVERTISEMENT

म्याग्दी- गण्डकी प्रदेश सरकार र म्याग्दीको रघुगंगा गाउँपालिको साझेदारीमा बेनी अस्पतालमा अक्सिजन उत्पादन केन्द्र सञ्चालन भएको छ । अक्सिजन उत्पादन केन्द्रको पूर्वाधार निर्माण र औजार खरिद तथा जडान गर्न ६३ लाख रुपैयाँ खर्च भएको बेनी अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

 

सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा ७५ लाख बजेट पठाएकामा प्रतिस्पर्धामार्फत ४३ लाख रुपैयाँमा अक्सिजन उत्पादन उपकरण खरिद गरिएको थियो । 


विघटित प्रतिनिधिसभा सदस्य सांसद भूपेन्द्र थापाको सिफारिसमा स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममार्फत रघुगंगा गाउँपालिकाले १४ लाख र अस्पतालको १ लाख ४० हजार रुपैयाँमा बुस्टर मेसिन खरिद गरिएको थियो । ‘सिलिन्डरमा अक्सिजन भर्ने बुस्टर मेसिन किनेर प्लान्ट सञ्चालनमा ल्याएका हौँ’, बेनी अस्पताल व्यवस्थापन समिति अध्यक्ष बेलबहादुर कटुवालले भने । 

 

मन्त्रालयको ५ लाख रुपैयाँको सहयोगमा अक्सिजन पलान्ट स्थापना गर्ने भवन निर्माण गरिएको छ । धवलागिरिले चालू आर्थिक वर्षमा विनियोजन गरेको ३० लाखबाट सघन उपचार कक्षमा एउटा भेन्टिलेटर थप्ने र एसी जडान गर्ने तयारी छ ।

 

जटिल अवस्थाका र श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचारमा अति आवश्यक अक्सिजनका लागि पोखरा पुग्नुपर्ने म्याग्दीबासीको समस्या हटेको छ । बेनी अस्पतालले अक्सिजन उत्पादन सुरु गरेपछि श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामीको उपचार सहज भएको छ । 

 

म्याग्दीबासीलाई यसअघि सिलिन्डरमा अक्सिजन भर्न पोखरा पुग्नुपर्ने बाध्यता थियो । बेनी अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएपछि म्याग्दीका साथै पर्वतको जलजलाबासीलाई पनि सुविधा पुगेको छ । 


श्वासप्रश्वास, आइसीयुमा राख्नुपर्ने, दमलगायत शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा सहज भएको अस्पतालका प्रमुख चिकित्सक डा. जितेन्द्र कँडेलले बताए ।

 

‘घरमै अक्सिजन दिएर राख्नुपर्ने बिरामीका लागि पनि सिलिन्डर भर्न पोखरा जाँदा समय र खर्च लाग्थ्यो । अब केन्द्रबाटै अस्पतालको बेडमै पाइपलाइनमार्फत अक्सिजन पुर्‍याउने तयारी छ’, डा. कँडेलले भने । यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट पठाएको उनले बताए । 

 

प्लान्टमा दैनिक १५ वटासम्म सिलिन्डरमा अक्सिजन भर्न सक्ने क्षमता छ । हाल १० वटासम्म सिलिन्डर भर्ने गरिएको छ ।


अस्पतालमा अहिले दैनिक २० देखि २५ जना श्वासप्रश्वाससम्बन्धी समस्या भएका बिरामी आउँछन् । हावालाई प्रशोधन गरेर अक्सिजनलाई सिलिन्डरमा भर्न मिल्ने उपकरण जडान गरिएको छ । एक पटकमा ३ वटा सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ । 

 

२०७२ सालमा ५० शय्या क्षमतामा स्तरोन्नति भएको बेनी अस्पतालले हालै ५ शैय्या क्षमताको सघन उपचार कक्ष (आइसीयू) सञ्चालनमा ल्याएको थियो । गत साउनदेखि मिर्गाैलाको डायलासिस सेवा सुरु गरेको अस्पतालले आँखा उपचार कक्ष र फोहोर व्यवस्थापन केन्द्रसमेत स्थापना गरेको छ ।

 

नयाँ भवन निर्माणमा भएको ढिलासुस्ती र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा बेनी अस्पतालले सर्वसाधारणको स्वास्थ्योपचार सहज बनाउन सकेको छैन ।