close

पञ्चकोटमा पर्यटक भित्र्याउन पदमार्ग निर्माण सुरु

पञ्चकोटमा पर्यटक भित्र्याउन पदमार्ग निर्माण सुरु

Trulli
ADVERTISEMENT

बागलुङ- बागलुङको पर्यटकीय स्थल पञ्चकोट पुग्ने पदमार्ग निर्माण सुरु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर ६ सिमको प्रगतिचोकदेखि पञ्चकोटसम्मको पदमार्ग निर्माण थालिएको हो । 


संघीय र गण्डकी प्रदेश सरकारको लगानीमा निर्माण हुने पदमार्गको बिहीबार बागलुङ नगरप्रमुख जनकराज पौडेलले शिलान्यास गरे । झन्डै ३ सय मिटर लम्बाइ र २ मिटर चौडाइको पदमार्ग आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुनेछ ।


एउटै योजनामा संघीय र प्रदेश सरकारबाट विनियोजन भएको बजेटलाई एकीकृत गरेर एकै उपभोक्ता समितिमार्फत काम सुरु भएको बागलुङ नगरपालिकाले जनाएको छ ।

 

पदमार्ग निर्माणका लागि पर्यटन मन्त्रालयले ७ लाख र गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ७ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेका छन् ।


‘काम सुरु भएको छ । पञ्चकोट बागलुङको आर्थिक र सामाजिक विकाससँग जोडिएको क्षेत्र पनि हो,’ नगरप्रमुख पौडेलले भने, ‘संघ र प्रदेशको बजेटले नपुगे हामी साझेदारी गर्छौं । योजनाको काम उपभोक्ता समितिले समयमै सक्नुपर्छ ।’ 


पदमार्ग बनेपछि पैदल हिँडेर पञ्चकोट पुग्ने पर्यटकका लागि सहज हुने पौडेलले बताए । ‘हामीले कालोपत्रे सडक बनाउने अभियान चलाएका छौँ । मासिएका पदमार्गको मर्मत र निर्माणको काम पनि चलिरहेको छ’ पौडेलले भने, ‘स्थानीयको दैनिकी र स्वरोजगारीसँग पदमार्गले अर्थ राख्छ ।’


 
स्थानीय ढुंगा, गिटी र बालुवा तथा अन्य निर्माण सामग्री प्रयोग गरेर यो पदमार्ग बन्ने इञ्जिनियर दीपेन्द्र भण्डारीले जानकारी दिए । ‘प्रदेशको योजनामा ताराखोलाको ढुंगा बिछ्याउने हो । संघको योजनामा ढलान हुन्छ,’ भण्डारीले भने, ‘दुई तहको योजना भएकाले फरक-फरक स्टिमेट छ ।’


डिभिजन वन कार्यालयअन्र्तगत सञ्चालन हुने योजनाको नियमित अनुगमन र सुपरिवेक्षण हुने डिभिजन वन अधिकृत मुकुन्द अधिकारीले बताए । ‘धर्म र सम्पदासँग जोडिएको मार्ग भएकाले धेरैको चासो छ,’ उनले भने, ‘स्थानीय मजदुर परिचालनमार्फत रोजगारी सिर्जनामा समेत यो योजनाले अर्थ राख्छ ।’ 


पञ्चकोट पुग्नका लागि वडाका विभिन्न स्थानबाट पदमार्ग बनाउने काम चलिरहेको वडाध्यक्ष खिमराज सापकोटा बताउँछन् । यो पदमार्ग बनेपछि आन्तरिक तथा बाह्य पर्यटकको आवगनमा वृद्धि हुने उनको विश्वास छ ।


‘पैदल हिँड्नेहरू धेरै हुँदा व्यापार व्यवसायमा टेवा पुग्छ,’ सापकोटा भन्छन्, ‘स्थानीय उत्पादनले बजार पाउँछ ।’


बागलुङमा रोजाइको पर्यटकीय स्थलको रूपमा विकास भइरहेको पञ्चकोट पुग्न पछिल्लो समय संघीय र प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेका छन् ।