close

फुङ्लिङमा एकसाथ गुञ्जिए कविता, गीत-गजलका बान्की

फुङ्लिङमा एकसाथ गुञ्जिए कविता, गीत-गजलका बान्की

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- वनरक्षक गणेश शाहीलाई सम्झँदै ताप्लेजुङको फुङ्लिङमा कविता, गजल र गीतका बान्की पस्किइएको छ ।  फुङ्लिङ नगरपालिकाको सामुदायिक भवन सिटीहलमा सम्पन्न गजल प्रतियोगितामा आठराई त्रिवेणी गाउँपालिकाका इन्द्र ‘सरोवर’ बजगाईं पहिलो भए । आठराई त्रिवेणीकै ‘आक्रोश’ विवश बराल द्वितीय र फुङ्लिङ नगरपालिकाका होमनाथ दाहाल तृतीय भए ।


कविता प्रतियोगितामा सिदिङ्वा गाउँपालिकाका भरत रिजाल पहिलो, आठराई त्रिवेणीका खगेन्द्रकुमार पोमु दोस्रो, मिक्वाखोला गाउँपालिकाका प्रवीण याम्फु तेस्रो तथा मैवाखोला गाउँपालिकाका जेसिका प्रसाईं सान्त्वना भइन् । 


गीततर्फ फुङ्लिङस्थित पाथीभरा बहुमुखी क्याम्पसका सहायक प्राध्यापक मानसिंह राई पहिलो, डिभिजन वन कार्यालय ताप्लेजुङकी सीता योगी दोस्रो र मिक्वाखोला गाउँपालिकाका प्रवीण याम्फु तेस्रो भएको आयोजक आधिकारिक ट्रेड युनियन ताप्लेजुङका अध्यक्ष रामचन्द्र नेपालले जानकारी दिए ।


निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका केन्द्रीय अध्यक्ष भोलानाथ पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वनरक्षक सहिद शाहीको अर्धकदको शालिकसमेत अनावरण गरियो ।


फुङ्लिङ वडा नम्बर ६ स्थित डिभिजन वन कार्यालयको हाताभित्र शाहीको अर्धकदको शालिक निर्माण गरिएको हो । कार्यक्षेत्रमै खटिएका बेला वनको सीमाबारे विवाद हुँदा शाहीको १७ पुस २०७३ मा मिक्वाखोला गाउँपालिकाको खोक्लिङमा शिर छेदन गरी हत्या भएको थियो ।


हत्याका अभियुक्त अदालतबाट दोषी ठहर भई अहिले ताप्लेजुङ कारागारमा छन् । जाजरकोटको दसेरा घर भएका शाही तत्कालीन इलाका वन कार्यालय खोक्लिङमा कार्यरत थिए ।


कार्य सम्पादन गरिरहेको अवस्थामा हत्या गरिएकाले शाहीलाई संरक्षक सहिद घोषणा गर्नुपर्ने माग कर्मचारीले राख्दै आए पनि हालसम्म सरकारले घोषणा भने गरेको छैन । 
फोटो ः कविता, गजल र गीतका विजेता प्रमाणसहित । साथमा शाहीको अर्धकदको शालिक अनावरण गरिँदै ।