close

बेरुजुरहित गाउँपालिका बन्दै सिदिङ्वा

बेरुजुरहित गाउँपालिका बन्दै सिदिङ्वा

Trulli
ADVERTISEMENT

ताप्लेजुङ-  रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुनबमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर्‍याइएको कारोबार नै बेरुजु हो । 

 

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले भने आफ्नो पालिकालाई बेरुजुरहित गाउँपालिकाको रूपमा परिकल्पना गरेको छ ।


गाउँपालिका तथा वडामा रहेको सैद्धान्तिक बेरुजुलाई नियमन गर्ने र असुल उपर गर्ने बेरुजुलाई रुजु गर्ने नीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए । 


समयमै बेरुजु असुल उपर गर्ने व्यक्ति तथा संस्थालाई पुरस्कार तथा दण्डको व्यवस्था गरी बेरुजुरहित पालिका बनाउन प्रोत्साहित गरिने भएको छ । बेरुजु असुलीलाई पालिकाकै एक महत्त्वपूर्ण कामको रूपमा राखी बेरुजुरहित गाउँपालिका बनाउने अभियानमा पालिका निरन्तर लाग्ने  प्रमुख प्रशासकीय अधिकृत लिम्बूल बताए ।


‘आर्थिक सुशासन र पारदर्शितालाई मुख्य लक्ष्य मानेर काम गर्ने योजनाअनुरूप बेरुजु फर्छ्याेट, सार्वजनिक परीक्षण र सार्वजनिक सुनुवाइ एकसाथ अघि बढाउने योजना छ’, प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले भने ।

 

नगरवासीमा सुशासनको प्रत्याभूति गराउन तथा रीत नपुर्‍याई कारोबार गर्ने प्रचलनको अन्त्य गर्न गाउँपालिकाले शून्य बेरुजु नीतिको परिकल्पना गरेको गाउँपालिकाले जनाएको छ ।