close

जनयुद्धमा बन्दुक बोक्नेदेखि  विराेधमा झन्डा बाेक्नेसम्म ओलीतिरै

जनयुद्धमा बन्दुक बोक्नेदेखि  विराेधमा झन्डा बाेक्नेसम्म ओलीतिरै

Trulli
ADVERTISEMENT

रूपन्देही- एक साताअघि प्रचण्ड-नेपाल समूहको नेकपाले आयोजना गरेको माइतीघरको धर्ना र आन्दोलनमा सहभागी पूर्वमाओवादीका दधिराम शर्मा न्यौपाने प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा लागेका छन् ।

 

अन्य प्रदेशमा ओली नेकपा समर्थक मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव धमाधम दर्ता भइरहेका बेला रूपन्देहीमा भने प्रचण्ड नजिकका न्यौपाने प्रधानमन्त्रीको पक्षमा देखिएका हुन् । जनयुद्धमा बन्दुक बोकेर हिँडेका अर्का केन्द्रीय सदस्य अनुप बराल पनि शर्मासँगै ओली समूहमा लागेका छन् ।

 

लुम्बिनी प्रदेश सरकारको समीकरणमा ओली समूहलाई सरकार टिकाई राख्न केही सांसद आवश्यक देखिएकै समय पूर्वमाओवादी समर्थकहरू ओली नेकपामा देखिएपछि मुख्यमन्त्री शंकर पोखरेलाई राहत हुने देखिएको छ । 


प्रदेशको अर्थ, उद्योग तथा पर्यटन समितिका सभापतिसमेत रहेका न्यौपानेले आफू सरकार पक्षतिर रहेको बताए । ‘अहिलेसम्म पार्टी एउटै छ, पार्टी विभाजन भएको छैन । आन्दोलनलाई समर्थन गर्ने कि सरकारलाई गर्ने भन्ने हो । मैले अहिले सरकारलाई समर्थन गरेँ । अरू जिल्ला स्तरका साथीहरू पनि मसँगै सरकारको समर्थनमा जानुभयो’, शर्माले भने ।


लुम्बिनी प्रदेशमा अहिलेसम्म जोखिममा रहेको पोखरेल नेतृत्वको सरकारले पूर्वमाओवादीका सांसदलाई आफ्नो पक्षमा ल्याउन छलफल तीव्र बनाएको छ । ८७ सांसदमध्ये नेकपाको पक्षमा ६१ सांसद रहेकामा पूर्वएमालेका ४१ र पूर्वमाओवादीका २० सांसद छन् ।


यीमध्ये न्यौपानेले प्रधानमन्त्रीलाई साथ दिएपछि ओली समूहले आफ्नो पक्षमा ४१ सांसद रहेको र अरू केही सांसदहरू पनि आउने दाबी गर्दै आएको छ ।नेकपा सचेतक भूमिश्वर ढकाल सरकारको पक्षमा बहुमत रहेकाले सरकार नढल्ने दाबी गर्छन् । उनले अरू केही सांसदहरू पनि सरकारकै पक्षमा रहने बताए ।

 

तर, पूर्वएमालेका केही सांसदहरू प्रचण्ड-नेपाल पक्षमै छन् । १ जना सांसद खुलेर प्रचण्ड-नेपाल पक्षमा लागे पनि अरू भने खुलेका छैनन् । 

 

प्रदेश सरकारका पक्षमा पूर्वएमालेका ४१ मध्ये ४० र १ जना पूर्वमाओवादीका सांसदले समर्थन गर्दा ४१ जना सांसद रहन्छन् । पोखरेलको सरकार टिकाई राख्न लुम्बिनी प्रदेशमा ४४ सांसद आवश्यक छ । 


यसमा पूर्वमाओवादीका कम्तीमा अरू २ जना सांसद सरकारको पक्षमा आए १ सांसद रहेको राष्ट्रिय जनमोर्चाको साथ लिएर सरकार बनाउने विषयमा पनि ओली पक्षमा छलफल चलिरहेको छ । 

 

१ जना पूर्वमाओवादी सांसद ओली समूहमा गएपछि प्रचण्ड-नेपाल पक्षमा २० सांसद रहेका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनबारे र निर्वाचन आयोगले चुनाव चिह्न एवं दलबारे गर्ने निर्णय दुवैतर्फका सांसदले पर्खिरहेका छन् ।


सूर्य चुनाव चिह्न प्रधानमन्त्रीले पाए पूर्वएमालेका सबै र केही पूर्वमाओवादीहरू ओली समूहमा जाने चर्चा नेकपा वृत्तमा छ । अहिलेकै अवस्थामा नेकपाका सांसदहरूले मनस्थिति परिवर्तन नगरे पोखरेलले सरकार बचाउन जनता समाजवादी या नेपाली कांग्रेसको साथ लिन आवश्यक देखिन्छ ।

 

‘ओली सनकले प्रतिनिधिसभा विघटन’

 

मानवअधिकारवादी नेता कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीको सनकका भरमा प्रतिनिधिसभा विघटन गरिएकाले मुलुक गृहयुद्धमा धकेलिन सक्ने चेतावनी दिएका छन् ।

 

ओलीले संविधानविपरीत प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई गृहयुद्धतर्फ उन्मुख उनले आरोप लगाए । पहाडीले प्रतिनिधिसभा विघटन प्रतिगामी कदम भएकाले विरोधमा उत्रनुपरेको जिकिर गरे । ‘प्रतिनिधिसभा पुनर्स्थापना नभए संविधान असफल हुने र मुलुक द्वन्द्वमा जाने निश्चित छ’, पहाडीले भने ।

 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेरको पनि विवेक जाँच्ने बेला भएको र कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीलाई साथ दिन नहुने उनले बताए । संविधान असफल भएपछि विदेशी शक्तिले मुलुकमा रजाइँ गर्ने हुँदा संविधानको रक्षाका लागि नागरिक समाज आन्दोलनमा उत्रिनुपर्ने आवश्यकता पहाडीले औँल्याए ।


लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्री ओलीको कदम संवैधानिक कु भएको दाबी गर्दै न्यायालयले प्रतिनिधिसभा पुनर्स्थापना गरेर संविधानलाई लिकमा ल्याउनुपर्ने बताइन् ।

 

लुम्बिनी प्रदेशका सांसद तथा नेकपा नेता विष्णु पन्थीले ओलीले जनताको अभिमतलाई कुल्चिएर देशलाई बर्बादी बनाएको आरोप लगाए । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनीले राष्ट्रपतिको मिलेमतोमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरे ।