close

सडक मानवमुक्त प्रदेशमा ९ महिनादेखि एक वृद्धाको ओडारमै बास

सडक मानवमुक्त प्रदेशमा ९ महिनादेखि एक वृद्धाको ओडारमै बास

Trulli
ADVERTISEMENT

जुम्ला- दैलेख जिल्ला स्थायी घर बनाउने माता नाम गरेकी एक वृद्धा विगत ९ महिनादेखि ओडारमै वास बस्दै आएकी छन् । उनी चन्दननाथ नगरपालिका- ३ गच्चु साँघु ओडारमा बस्दै आएकी हुन् । 


करिब ६० वर्षीया वृद्धा गएको वैशाखको पहिलो सातादेखि जुम्ला आएर उक्त ओडारमा बस्दै आएको बुझिएको छ । तर, उनको खास घर कहाँ हो ? नाम के हो ? कहाँबाट आएकी हुन् ? किन यहाँ बसिरहेकी छन् ? यस विषयमा खुल्न सकेको छैन । 

 

वृद्धालाई चन्दननाथ नगरपालिका- ३ सिम्खाडा गाउँका स्थानीयले पालैपालो घरबाटै खाना ल्याइदिएर ओडारमा पुर्‍याउने गरेको स्थानीय महिला जानकी रावलले बताइन् । उनले भनिन्, ‘मानसिक सन्तुलन गुमेजस्तो भए पनि नराम्रो व्यवहार गर्दिनन् । तर, खुला आकाशमुनि सुत्ने, वन जंगलतिर डुल्ने गर्छिन् ।’


विगत ९ महिनादेखि गाउँलेहरूले नै खाना खुवाउँदै आएका तर अन्त कतै जान, घरमा बस्न भन्दा नमान्ने गरेको स्थानीय कृष्णा बुढ्थापाले बताइन् । उनका अनुसार चाँडै उद्धार नभएको खण्डमा उनको मृत्यु हुने अवस्था छ । 


वृद्धाले भने ओडारबाट अन्त कतै नजाने बताउँदै आएकी छन् । गाउँमा नजाने, वनमै बस्ने वनपाले हुने बताउँछिन् तर बढ्दै गएको चिसोले वृद्धाको उद्दार गर्नुको विकल्प छैन ।  


९ महिनादेखि एक्लै ओडारमा बस्दै आएकी उनलाई पहिलो चरणमा लत्ता कपडासहित खाद्यान्न राहत वितरण गरिएको छ । सडक मानवलाई राहत वितरण गर्ने क्रममै बेवारिसे अवस्थामा ओडारमा वृद्धा महिला बसिरहेकी भन्ने थाहा पाएपछि बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा नेतृत्वको टोलीले ओडारमै पुगेर राहत वितरण गरेको हो ।


कठ्याङ्ग्रिँदो चिसोमा खुलामुनि ओडारमा बसिरहेकी वृद्धा महिलालाई पहिलो चरणको राहतमा चामल ३० किलो, नुन, तेल, न्यानो कम्बल, ज्याकेट, चाउचाउ, बिस्कुट, पाल, भाडा बर्तन, धोतीलगायतका राहत सामग्री वितरण गरिएको प्रअिज थापाले बताए ।


दीर्घकालीन रूपमा पुनस्र्थापना हुने व्यवस्था नभएसम्मका लागि राहत दिइएको उनको भनाइ छ । ‘बढ्दै गएको चिसोमा जतिबेला पनि तलमाथि हुने भएकाले तत्तकाल उद्दारमा जोड दिनु राज्यको दायित्व हो । हामी उद्दार कहाँ, कहिले, कसरी गर्ने भन्नेबारे तयारीमा जुटेका छौँ’, प्रजिअ थापाले भने । 


सुर्खेत मानव सेवा आश्रममा पठाउने वा जिल्लामै व्यवस्थापन गर्नेबारे छलफल गरी चाँडै उद्दार गर्ने प्रशासनको तयारी छ ।


प्रशासनले दैनिक उपभोग्य अत्यावश्यक खाद्य सामग्रीसहित लत्ता कपडा दिएपछि खुसी हुँदै उनले मरुन्जेल ओडारमै बस्ने बताइन्  । उनले भनिन्, ‘अब मथ्थै सामान पाए, अब कतै जानु नुपड्न्या भो, निकै खुसी छु, सहयोग गर्ने सबैलाई नमस्कार ।’

 

कर्णाली सरकारले सडक मानवमुक्त प्रदेश घोषणा गरिसकेको अवस्थामा एक वृद्धा बेवारिसे अवस्थामा ओडारमै बस्दासमेत बेलैमा राज्यको ध्यान नजानु दुखद भएको र ढिला भए पनि वृद्धाको चाँडै उद्दार गर्नुपर्ने पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष नेत्र शाहीले बताए ।