close

मैवाखोलाको गैरसरकारी संस्थालाई लगाम: लाभान्वित क्षेत्र नसमेटिए स्वीकृति नै नपाउने

मैवाखोलाको गैरसरकारी संस्थालाई लगाम: लाभान्वित क्षेत्र नसमेटिए स्वीकृति नै नपाउने

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कार्यक्रमको औचित्य, प्रभाव र लाभान्वित क्षेत्रसमेतको विश्लेषणका आधारमा मात्र गैरसरकारी संस्थालाई कार्यक्रम संचालनको अनुमति तथा स्वीकृति दिने भएको छ ।

 

गाउँपालिकामा आफ्नो कार्यक्षेत्र बनाएर काम गर्न चाहने गैरसरकारी संस्था संचालन र नियमनका लागि कार्यविधि तयार गर्दै गैरसरकारी संस्थाको जथाभावी उपस्थिति र कार्यक्रम संचालन प्रक्रियामाथि अंकुश लगाएको हो ।

 

गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङले गैरसरकारी संस्थाहरूको कार्यक्रम, बजेट, समयतालिका, कार्यक्रमको औचित्य र लाभान्वित क्षेत्रका आधारमा मात्र पालिकाले राय दिन सकिने बताए ।

 

‘स्वीकृति दिएको अवस्थामा पनि गाउँपालिकाले गैरसरकारी संस्थाको प्रस्तावित कार्यक्रम क्षेत्र परिवर्तन वा संशोधन गरी पालिका सुहाउँदो बनाउनुपर्नेछ । पालिका सुहाउँदो कार्यक्रम संचालनको योजना तय गर्न नसक्ने वा नमान्ने गैरसरकारी संस्थालाई स्वीकृति दिँदैनौँ’,अध्यक्ष थत्लुङले भने ।

 

गैरसरकारी संस्थालाई नियमन गर्न गाउँपालिकाले पालिकामा छुट्टै गैरसरकारी संस्था नियमन तथा अनुगमन इकाइसमेत गठन गर्नेछ । यस इकाइले गैरसरकारी संस्थाको प्रस्तावित कार्यक्षेत्र गाउँपालिका सुहाउँदो भए/नभएको, कार्यक्रमको औचित्य, प्रभाव र असर पालिकाको हितअनुकूल भए/नभएको मूल्यांकन गरी कार्यपालिकामा राय दिनेछ ।

 

सोही रायका आधारमा कार्यपालिकाले गैरसरकारी संस्थालाई संचालन स्वीकृतिदेखि कार्यक्रमको क्षेत्रसम्मको अन्तिम निष्कर्ष दिइने गाउँपालिकाले जनाएको छ ।