close

देवदहको सिक्टहनमा आधारभूत स्वास्थ्य केन्द्र बन्ने

देवदहको सिक्टहनमा आधारभूत स्वास्थ्य केन्द्र बन्ने

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ११ सिक्टहनमा आधारभूत स्वास्थ्य केन्द्र भवन शिलान्यास गरिएको छ । आधारभूत स्वास्थ्य केन्द्र भवनको देवदह नगरप्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङले संयुक्त रूपमा शिलान्यास गरे ।


संघीय सरकारको एक वडा एक स्वास्थ्य केन्द्र अवधारणाअन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र भवन शिलान्यास भएको हो । संघीय सरकारको करिब ३३ लाख ८४ हजार रुपैयाँको लागतमा उक्त भवन निर्माण हुने भएको हो । आगामी २०७८ जेठ मसान्तभित्र भवनको काम सक्ने गरी भुसाल निर्माण सेवाले ठेक्का लिएको छ ।

 

कार्यक्रममा नगरप्रमुख खत्रीले विकास निर्माणमा स्थानीयले निगरानी गर्न आवश्यक रहेको औँल्याए । उनले भने, ‘स्थानीयको सक्रिय सहभागिताबिना विकास निर्माणका काम सम्पन्न हुन सक्दैनन् ।’

 

खत्रीले देवदहले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरे । ‘नगरपालिकाले निःशुल्क शिक्षाका लागि विभिन्न योजना अगाडि सारेको छ । स्वास्थ्य क्षेत्रमा सबैको पहुँच पुर्‍याउन प्रत्येक वडामा एउटा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण प्रक्रिया अगाडि बढेको छ ।’

 

नगरप्रमुख खत्रीले कृषकलाई उत्पादनको आधारमा अनुदान व्यवस्था गरिएको बताउँदै नगरपालिकाले सिँचाइ योजना अगाडि सारेको जानकारी दिए । 

 

कार्यक्रममा नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले समाज रुपान्तरणमा सबैको हातेमालो आवश्यक रहेको बताइन् । बाल मृत्युदर घटाउन नगरपालिकाले ठाउँ-ठाउँमा बर्थिङ सेन्टर सञ्चालन गरेको जानकारी दिइन् । 


‘आम नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्न प्रत्येक वडामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सुरु भएको हो’, उनले भनिन् ।

 

देवदह नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर चौधरीले आधारभूत स्वास्थ्य भवन बनेपछि स्थानीयलाई स्वास्थ्योपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।