close

घोर्लेमा प्रथम सुन्तला महोत्सव सुरु

घोर्लेमा प्रथम सुन्तला महोत्सव सुरु

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिका- ५ चिसापानी घोर्लेमा प्रथम सुन्तला महोत्सव सुरु भएको छ । ‘कृषि र उत्पादन विकासको आधार, सुन्तला उत्पादन गरिबी निवारण पूर्वाधार’ नारासहित २ दिनसम्म संचालन हुने सुन्तला महोत्सव शनिबार सुरु भएको हो । 


घोर्लेमा उत्पादित सुन्तलाको प्रचारप्रसार गर्दै बजार प्रवद्र्धनका लागि आयोजित महोत्सवको विघटित संविधानसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् । घोर्लेमा उत्पादित सुन्तलाको प्रवर्द्धन, विज्ञापन र पहिचानका लागि गाउँपालिकाकै सहयोगमा सुन्तला महोत्सवको आयोजना गरिएको हो । 


घोर्लेमा उत्पादित सुन्तलालाई देशभर चिनाउँदै कृषिजन्य उत्पादनको प्रवर्द्धन, कृषि पर्यटनको विकास एवं किसानको आयआर्जनमा वृद्धि गर्नका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिकाका रोजगार संयोजक एवं प्रथम सुन्तला महोत्सव आयोजक समितिका संयोजक विज्ञान राई पुमाले बताए । 


महोत्सवमा घोर्लेमा उत्पादित सुन्तलाको दाना, सुन्तलाको जुस, सुन्तलाको वाइनको स्टल राखिएको थियो । यस्तै, पुराना ऐतिहासिक सांस्कृतिक बाजा, पुराना प्रविधिका हस्तकलाका सामग्री, काठका ऐतिहासिक सामग्री, पितृकार्य वा विवाहमा प्रयोग गरिने ऐतिहासिक सामग्री, हुक्का-चिलिम, चोयाबाट निर्मित कोसेली वा अन्य सामान राख्न प्रयोग गरिने सामग्री राखिएको छ ।


यसरी नै ऐतिहासिक कुपी, खुँगी, चुलेसी, काठबाट निर्मित ऐतिहासिक सामग्री, ऐतिहासिक लोटा र सिक्का, जाँतो, तेल पेल्ने कोल, ढिकी, किरात राईको साकेला थान, किरात राईको पितृ पूजा गर्ने चुह्लो, किरात राईको मृत्यु संस्कार गरिने कार्य झल्काउने सामग्री, रक्सी बनाउने स्थानीय प्रविधि, कृषिजन्य उत्पादनका सामग्री, गुन्द्री सुकुल, ऐतिहासिक किरात राजाले प्रयोग गर्ने हतियार, हस्तकलाका सामग्रीलगायतको स्टल राखिएको छ । 


जन्तेढुंगा गाउँपालिकाको मुख्य प्रायोजन, ग्रामीण विकास तथा अनुसन्धान केन्द्र, सिर्जनशील आमा समूह र तीनतले कोलाताङ सामुदायिक वन घोर्लेको सहप्रयोजनमा स्थानीय प्रगतिशील कृषक समूह र सिलिचोङ सांस्कृतिक परिवार घोर्लेको आयोजनामा सुन्तला महोत्सव गरिएको हो ।

 

घोर्लेमा उत्पादित सुन्तलालाई चिनाउँदै कृषिको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउनका लागि महोत्सवको परिकल्पना अघि सारिएको गाउँपालिका अध्यक्ष शंकर राईले बताए ।

 

महोत्सवमा साकेला सिली, स्थानीय कलाकारको सांस्कृतिक कार्यक्रम, लोकदोहोरी तथा नृत्य प्रतियोगीतालगायतका कार्यक्रमसमेत राखिएको आयोजकले जनाएको छ । सुन्तला महोत्सवलाई हरेक वर्ष निरन्तरता दिइने जनाइएको छ ।