close

बुर्तिवाङमा रक्त संचार केन्द्र नहुँदा सास्ती खेप्दै बिरामी

बुर्तिवाङमा रक्त संचार केन्द्र नहुँदा सास्ती खेप्दै बिरामी

Trulli
ADVERTISEMENT

बागलुङ- दैनिक सयौँ बिरामी आउने बाग्लुङको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा रगत अभाव भएको छ । रक्त संचार केन्द्र नहुँदा तत्काल रगत चाहिने बिरामीको उपचारमा समस्या देखिएको हो । 

 

सदरमुकामदेखि ९० किलोमिटर पश्चिममा भएकाले यो स्वास्थ्य चौकीमा उपचार गराउन दैनिक बिरामीहरू आउने गर्छन् । तत्काल सदरमुकाम पुग्न नसक्नेले यहीँ स्वास्थ्य चौकीको भर पर्नुपर्छ । रगत अभावमा सुत्केरी सेवा लिनुपर्नेलाई बढी सास्ती हुने गरेको केन्द्र प्रमुख डा. मिलन मल्लले बताए ।

 

केन्द्रमा आवश्यक दरबन्दीका स्वास्थ्यकर्मीसमेत छैनन् । तत्काल रिफर गर्न एम्बुलेन्स पनि छैन । हाल पश्चिम क्षेत्रमा आएका एम्बुलेन्स केन्द्र मातहतमा चल्ने वा कता रहने भन्ने अन्योल छ ।


‘अपरेसन गर्ने डाक्टर छन् तर रक्त संचार केन्द्र छैन । जटिल अवस्थाका बिरामी आए रिफर गर्नुपर्छ । त्यसरी रिफर गर्दा बिरामीले महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ’, डा. मल्लले भने ।


रक्त संचार केन्द्र नभएकाले अपरेसन गर्ने बिरामीले रक्त समूह मिल्ने व्यक्ति खोजेर राख्नुपर्ने बाध्यता छ । ‘उपचार मात्र दिएर पुग्दैन । त्यसपछिका जटिलता सम्बोधन गर्ने चुनौती छ’, डा. मल्लले भने ।


ढोरपाटन नगरप्रमुख देवकुमार नेपालीले स्वास्थ्य चौकीका लागि आफ्नै खर्चमा एउटा एम्बुलेन्स खरिद गरेका छन् । केही व्यावसायिक व्यक्तिको सहयोगमा पश्चिमका लागि अर्को एम्बुलेन्स आएको छ । यसअघि भीमगिठे र ग्वालिचौर चौकीमा रहेका एम्बुलेन्स बोलाएर बिरामी पठाउनुपर्थ्याे।


स्वास्थ्य चौकीमा सम्भव नभएपछि थप उपचारका लागि यहाँबाट अधिकांश बिरामी पाल्पा र बुटवल जाने गर्छन् । ‘यहाँ बसेर अपरेसन गर्नै पर्ने भए पनि सम्भव छैन’, डा. मल्लले भने, ‘तत्काल आउने जटिलतासँग जुध्न चाहिने उपकरण र सवारी साधन नहुँदा समस्या भोगिरहेका छौँ ।’ 


अपरेसनसहितको सेवा दिँदा ल्याब असिस्टेन्ट, मेडिकल अधिकृत र कम्तीमा ३ जना नर्स अभाव रहेको उनले जानकारी दिए । यहाँ केन्द्र व्यवस्थापन समितिबाट ५ जना स्वास्थ्यकर्मी करारमा राखिएको छ ।


तीमध्ये डा. विवेक यादव एनेस्थेसिया हुन् । उनको दरबन्दीमै व्यवस्था गर्न सके नियमित अपरेसन सेवा दिन सकिने डा. मल्ल बताउँछन् ।