close

पाथीभरा डढेलोः जोखिम हटे पनि पूर्ण नियन्त्रणमा ल्याउन पहल

पाथीभरा डढेलोः जोखिम हटे पनि पूर्ण नियन्त्रणमा ल्याउन पहल

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- पाथीभरा क्षेत्रको जंगलमा लागेको आगो पूर्ण रूपमा नियन्त्रण गर्न जर्किनमा पानी बोक्ने, अग्निरेखा बनाउनेसहितका सबै वैकल्पिक अभियान चलाइने भएको छ ।


यस्तो अभियान संचालनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंले जानकारी दिए । ‘जोखिम हटेको छ तर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छैन’, प्रजिअ चापागाईंले भने । 


उनले आगो जंगलको भित्री भागसम्म पत्रैपत्र बनेर सूक्ष्म रूपमा कायमै रहेकाले सुरक्षा जनशक्तिमार्फत जर्किनमा पानी बोक्ने अभियान चलाउन तयारी भइरहेको बताए । नजिकको पानीका स्रोतमार्फत जर्किनमा पानी बोकेर आगोको धुवाँ आइरहेको क्षेत्रमा पानी खन्याएर आगो पूरै नियन्त्रणमा आउन सक्ने ठम्याइ सुरक्षा स्रोतको रहेको उनले जानकारी दिए । 


दन्किने प्रकृतिको आगो नियन्त्रणमा आएको तर जंगलमा अझै यसमा अवशेष रहेकाले थप जोखिम हुन नदिन पूरै सुरक्षा जनशक्ति केन्द्रित भइरहेको उनले बताए ।


‘पाथीभरा क्षेत्रका कर्मचारी र स्थानीयसँगको सहयोग तथा समन्वयमा सुरक्षा टोलीले जंगलमा सूक्ष्म रूपमा रहेको आगो नियन्त्रणका लागि प्रयास जारी राखेको छ’, उनले भने ।


पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलोबाट थप जोखिम हुन नदिन यसअघि हेलिकोप्टरमार्फत बकेटमा पानी ल्याई आगलागी भइरहेको क्षेत्रमा खन्याउने प्रयास पनि गरिएको थियो । 


अबको सबै प्रयास मानवीय जनशक्ति वैकल्पिक उपाय केन्द्रित हुने प्रजिअ चापागाईंले बताए । जिल्ला विपद् व्यवस्थापन समिति संयोजकसमेत रहेका उनी नेतृत्वको सुरक्षा टोलीले पाथीभरा जंगलमा लागेको डढेलो क्षेत्रको स्थलगत अनुगमनपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिने प्रयासबारे सबै उपाय अवलम्बन गर्ने नीति लिएको हो । 


जिल्ला प्रहरी प्रमुख (डीएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार नेपाली सेनाका २५, नेपाल प्रहरीका २४, सशस्त्र प्रहरीका ११ र पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति र स्थानीय ३५-४० जना गरी करिब १०० जनाको जनशक्ति अहिले डढेलो नियन्त्रण प्रयासमा परिचालित भएको छ । 


यो टोलीले अन्यत्र आगो बढ्न नदिन अग्निरेखा बनाउने र पानीको प्रयोगसहितका सबै उपाय अवलम्बन गर्ने योजना बनाएको छ ।


‘आइतबारबाट आगो अन्यत्र फैलन नदिन तथा सूक्ष्म रूपमा रहेको आगोको पहिचान गरी पूर्ण रूपमा नियन्त्रणमा लिन सबै वैकल्पिक उपाय अवलम्बन गरिनेछ’, डीएसपी श्रेष्ठले भने ।