खोइ स्थानीय सरकार ?

जीवनमरणको दोसाँधमा मेखबहादुर


  • change font
  • change font
  • change font

गुल्मी- नेता र नेतृत्व सत्ताको दाउपेचमा सरकार र सडकसम्मै छन् । तर, गाउँको विपन्न नागरिक उपचार गर्न पैसा नभएर मृत्युको दिन गनिरहेका छन् ।


गुल्मी सदरमुकाम रेसुंगा नगरपालिका वडा नम्बर- १४ पराल्मी टेकुवाका २१ वर्षीय मेखबहादुर पेमी डेढ वर्षदेखि गम्भीर रोगका कारण जीवन-मरणको दोसाँधमा छन् । मेखबहादुरको १२ कक्षा उत्तीर्ण भएपछि लाहुरे बन्ने सपना हो । तर, उत्तीर्ण हुनेबित्तिकै रोगले च्याप्प समाइहाल्यो ।


मेखबहादुर शारीरिक रूपमा बलिया नै थिए । त्यसैले गाउँमा दौडधुप पनि गरिरहन्थे तर बीचमै बज्रपात आइलाग्यो । उनी डेढ वर्षदेखि ब्रोन म्यारोले काम नगरेपछि एप्लास्टिक एनिमिया रोगका कारण थला परिरहेका छन् । मेखबहादुर २०७६ साउनमा बेसरी थलिए । 


केही समय लक्षणअनुसार जन्डिसको शंका लागेर गाउँमै उपचार गरे । निको भएन बरु समस्या झन् बल्झिँदै गयो । घरपरिवारले उपचारका लागि तम्घासदेखि बुटवल हुँदै भरतपुरसम्म ल्याइपुर्‍याए ।


रोग पत्ता लागेन । स्वदेशमा केही उपाय नलागेपछि मेखबहादुर भारत गए । ३ महिनापछि मात्र रोग पत्ता लागेको बुबा ६२ वर्षीय चन्द्रबहादुर पेमी सुनाउँछन् । 


भारतमा उपचार पत्ता लगाउने काम मात्र भयो । डाक्टरले उपचारका लागि १२÷१५ लाख भारतीय रुपैयाँ लाग्ने बताएपछि विपन्न परिवार झस्कियो । बल्लतल्ल गुजारा चलाएको गरिब परिवारका लागि त्यति ठूलो रकम जुटाउन सम्भव पनि थिएन ।


‘हजारकै लागि मुस्किल थियो । त्यत्रो रकम जुटाउने उपाय नै भएन’, चन्द्रबहादुरले भने, ‘बसेर के गर्ने ? उपचार नगरेरै घर फर्किएँ ।’ 


मेखबहादुरको शरीर आफैँले रगत उत्पादन गर्दैन । प्रत्येक महिना अरूको रगत चढाउनुपर्छ । डेढ वर्षदेखि अरूकै रगत चढाएर बचाइएको बुबा चन्द्रबहादुरले बताए । 


प्रत्येक महिना रातो र सेतो गरेर ८ पोकासम्म रगत आवश्यक पर्छ । पेमी परिवारले रगतकै लागि मात्र २५ देखि ३० हजार रुपैयाँ मासिक खर्च गरिरहेको छ ।


विपन्न चन्द्रबहादुरका ६ जना छोराछोरी छन् । गाउँमा रोजगारी छैन । उब्जनी नहुने रूखो खेतबारी । चन्द्रबहादुरलाई परिवार पाल्न सजिलो थिएन । 


उनले ४३ वर्ष भारतमा काम गरे । मुस्किलले परिवार पाले । ४ छोरीको बिहे र छोरालाई माविसम्म पढाउँदा बचतै भएन । मेख बहादुरलाई भाइ ब्रोन म्यारो दिन तयार छन् । तर, फेर्न मात्र २५ लाख रुपैयाँ लाग्ने भएकाले समस्या देखिएको हो ।


‘बुढेसकालसम्म छोराछोरी भनेर भारतमै काम गरेँ । जेठो छोराको कमाइ खाने बेला रोगले छोप्यो’, चन्द्रबहादुरले भने, ‘बचाउन पाए हुन्थ्यो भनेर भगवानसँग दुई हात जोडेको छु ।’ 


पेमी परिवारले गाउँका क्लब, वडा, नगरबाट सामान्य सहयोग पाएको छ । अहिलेसम्म ५-७ लाख रुपैयाँ खर्च भइसकेको छ । ऋण-धन गरेर रगत चढाउने उपाय पनि छैन ।


‘उपचारमा ठूलो रकम आवश्यक पर्ने भएकाले गरिबलाई राज्यले नै सहयोग गर्नुपर्छ’, छिमेकी मोहन गौतमले भने, ‘चन्दा संकलन गरेर कहिलेसम्म बच्ने र बचाउने ?’ 


अब स्वदेश तथा परदेशबाट सहयोग भएन भने परिवारले रगत किन्नेसमेत उपाय नभएको गौतमले सुनाए । सुरुदेखि नै पेमी परिवारलाई सहयोग गरिरहेका तम्घासका राजीव बराल, पूजा राना र सन्तोष न्यौपानेले ‘मेखबहादुर पेमी बचाऊ अभियान’ संचालन गरेका छन् ।