close

जन्तेढुंगाको बोपुङमा खुल्यो सामुदायिक स्वास्थ्य इकाइ केन्द्र 

जन्तेढुंगाको बोपुङमा खुल्यो सामुदायिक स्वास्थ्य इकाइ केन्द्र 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर २ बोपुङमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना भएको छ । ग्रामीण क्षेत्रको विकट स्थानका सर्वसाधारणलाई लक्षित गरी बोपुङको डुम्रेबोटेमा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाइ केन्द्रको विघटित प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरे ।


स्वास्थ्य सेवाका लागि आधा १ घन्टाभन्दा बढी समय हिँड्न बाध्य २ नम्बर वडाबासीलाई लक्षित गर्दै स्वास्थ्य चौकीसरह सेवा दिने गरी सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको जन्तेढुंगाका स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए । 


स्वास्थ्य इकाइ केन्द्रमा आवश्यक औषधीसहित १ जना अहेब र १ जना अनमीले नागरिकलाई सुविधा दिनेछन् । ६ वडामध्ये डुम्रेबोटेमा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाइ केन्द्र गाउँपालिकाकै तेस्रो हो ।


सामुदायिक स्वास्थ्य इकाइ केन्द्र उद्घाटनका लागि गाउँपालिका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, प्रमुख प्रशासकीय अधिकृत गिरिराज भट्टराईलगायत बोपुङ पुगेका थिए ।


यसअघि जन्तेढुंगा वडा नम्बर १ देवीस्थानको सिक्किमटार र वडा नम्बर ५ चिसापानीको खुटाछिरुवाघारमा सामुदायिक स्वास्थ्य इकाइ केन्द्र स्थापना भइसकेको छ ।

 

सामान्य स्वास्थ्य सेवाका लागि घन्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्न बाध्य सर्वसाधारणलाई आफ्नै गाउँमा उपचार सेवा दिन मिल्ने गरी अन्य वडामा पनि सामुदायिक स्वास्थ्य इकाइ केन्द्र विस्तार गर्ने तयारी गाउँपालिकाको छ । 


जन्तेढुंगाको वडा नम्बर ४ डम्बर्खुशिवालयमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । गाउँपालिकाकै दोस्रो बर्थिङ सेन्टरबाट गत १४ पुसदेखि सेवा सुरु गरिए पनि औपचारिक उद्घाटन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । हालसम्म प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा मात्र बर्थिङ सेन्टर सञ्चालनमा थियो ।