close

पोखरा महानगरको आफ्नै शिक्षालय

अव नगरमै उत्पादन हुनेछन् इन्जिनियर

पोखरा महानगरको आफ्नै शिक्षालय

अव नगरमै उत्पादन हुनेछन् इन्जिनियर

Trulli
ADVERTISEMENT

कास्की– पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ । 


३ वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ । 


एसइई उत्तीर्ण विद्यार्थीले असोज १५ सम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए । २ विषयमा ४८÷४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्यले बताए ।


१० वटा पूर्ण छात्रवृत्ति र ६ वटा कोटा सहुलियत र ३२ वटा कोटा खुला छन् । 


पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्सहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको हो । 


अटोमोबाइल इन्जिनियरिङसम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा पोखरा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यअनुसार अटोमोबाइल इन्जिनियरिङको अध्यापन सुरु गरेको हो ।


महानगरले प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन लिएर वडा–२९ भण्डारढिकमा स्थापना गरेको बहुप्राविधिक शिक्षालयल प्राविधिक विषयमा अध्ययन गराउनेछ । 


स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणको उत्पादन नभएपछि छिमेकी मुलुकबाट आयात हुने गरेको छ । उच्च रोजगारी प्राप्तिको क्षेत्र भए पनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ ।


सिभिल इन्जिनियरिङका अधिकांश प्राविधिक शिक्षालयहरूमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पस नगन्य छन् । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्षअघि अटोमोबाइल विषय अध्यापन गरिए पनि हाल त्यसको पठनपाठन हुँदैन ।


यस वर्ष पहिलोपटक २ विषयमा प्राविधिक विषय अध्यापन गरिए पनि शिक्षालयको पूर्वाधार निर्माणपछि थप प्राविधिक कक्षासमेत थप्ने योजना नगरपालिकाले बनाएको छ ।


सिभिल इन्जिनियरिङका लागि ३ वर्षको १ लाख ९५ हजार शुल्क तोकिएको छ भने अटोमोबाइलको १ लाख ७५ हजार तोकिएको छ । 


पूर्वाधार नबन्दासम्म सुरुमा महानगरले जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ । पोखरा महानगरका केही वडा कार्यालयहरूले आफ्नो वडामा बस्ने विद्यार्थीमध्येबाट १ जनालाई वडा कार्यालयकै खर्चमा पढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।