close

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

जुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लामा हिमपात शुरु भएसँगै चिसो अत्यधिक बढेको छ । यहाँका उच्च हिमाली क्षेत्रमा एक फिट हिउँ परेको छ भने बेसीमा सामान्य जमेको देखिएको छ । डाडाँकाडा सेताम्मे भएका छन् ।

 

हिँउ परेपछि चिसो बढ्नुका साथै जनजीवन प्रभावित भएको छ । रातभर सामान्य पानी परेको जुम्ला सदरमुकाममा पानी परेसँगै हिँउ जमेको हो । यस बर्ष मंसिरमा सामान्य हिउँ परेपनि खासै हिउँ परेको थिएन ।


मौसम पनि चिसो भएका कारण हिउँ धेरै पर्नसक्ने मौसमविद्हरुको भनाइ छ । हिमपातका कारण हवाई यातायात प्रभावित भएको छ । जुम्ला विमानस्थलमा जहाज बस्न नसकेको नागरिक उडान प्राधिकरणले जनाएको छ ।


यसैगरी एक सातादेखि नै जुम्लामा चिसो बढ्दै आएको छ । अहिले जुम्लाको तापक्रम माइनसमा झरेको जल तथा मौसम विज्ञान कार्यालयले जानकारी दिएको छ । जल तथा मौसम विज्ञान कार्यालयले प्रमुख आशामपुरा कार्कीका अनुसार आइतवार न्यूनतम माइनस ३ दशमलप ८ डिग्री रहेको तापक्रम वादल र हावा कम भएपछि शुन्य दशमलव ६ रहेको जानकारी दिइन् ।


सडक मानवलाई ज्यान जोगाउनै कठिन


हिमपात भएसँगै चिसोले जनजीवन प्रभावित भएको छ । विशेषगरी सडकमा रहेका नागरिकहरुका लागि चिसोले कठिन भएको छ । करिब एक वर्ष देखि चन्दननाथ नगरपालिका–३ गच्चु ओडारमा बस्दै आएकी मानसिक समस्या भएकी एक महिलालाई बस्न कठिन भएको छ । यिनै महिलासहित जुम्लाको सदरमुकाम खलंगा बजारका विभिन्न सडक छेउछाउमा ८ जना सडक मानवहरु छन् । हिमपातले चिसो बढेपछि उनीहरुलाई ज्यान जोगाउन कठिन भएको छ ।


यद्यपी स्थानीय प्रशासन र स्थानीय सरकारले उनीको अवस्था अवलोकन गर्दै पुनस्र्थापनाको तयारी गरेको छ । तर अत्याधिक चिसो र हिउँ परेका कारण दैलेख घर बताउने ती महिलालाई तत्काल उद्धार गर्न आवश्यक रहेको स्थानीय बताउदै आएका छन् ।