close

मेरिङ्देनको हिउँदे अधिवेशन : बेरुजु विवरण छलफलमा केन्द्रित 

मेरिङ्देनको हिउँदे अधिवेशन : बेरुजु विवरण छलफलमा केन्द्रित 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले हिउँदे अधिवेशनमा पालिकाको बेरुजु फछ्र्योटलाई मुख्य एजेण्डा बनाएर छलफल सुरु गरेको छ । बेरुजु फछ्र्योटका लागि जनप्रतिनिधि र चालू आर्थिक वर्षको हिउँदे अधिवेशनमा करिव ६ करोड ६१ लाख रुपैयाँभन्दा बढी बेरुजु रकमको विवरणमाथि छलफल हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले जानकारी दिए । 


उनका अनुसार गाउँपालिकाको कुल बेरुजु ६ करोड ६१ लाख ७१ हजार रुपैयाँ छ । बेरुजु फछ्र्योटमा जनप्रतिनिधि र कर्मचारी एकै ठाउँ बसेर फछ्र्योटका आधार र सम्बन्धित पक्षको दायित्व सिर्जना गर्नेगरी हिउँदे अधिवेशनमा पालिकाको बेरुजु फछ्र्योट मुख्य एजेण्डा बनेको गाउँपालिकाले जनाएको छ । 


प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार पालिकाका वडा नं.- १ थिङ्लाबु, वडा- २ सान्थाक्रा, वडा- ३ खाम्लुङ, वडा- ४ लिङ्तेप, वडा- ५ थुकिमा र वडा- ६ नाल्बुको २७ फागुन २०७३ पछिको एकमुष्ठ बेरुजु ८१ लाख ८५ हजार ६१३ रुपैयाँ छ । 


मेरिङ्देन गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ को बेरुजु ९३ लाख ३९ हजार ३८७ रुपैयाँ छ । प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सैद्धान्तिक, नियमित गर्नुपर्ने, पेस्की, धरौटी, संघीय र प्रदेश सरकारमा फिर्ता गर्नुपर्ने, असुलउपर गर्नुपर्ने र प्रमाण पेस गर्नुपर्ने बेरुजु सबैभन्दा बढी छ । 


सो वर्षमा यस्तो प्रकृतिको ४ करोड ८६ लाख ४६ हजार रुपैयाँ बेरुजु रहेको आङ्देम्बेले जानकारी दिए । ‘बेरुजुको भोल्युम बढ्न नदिन, भएको बेरुजु रकम फछ्र्योट गरी घटाउन तथा अब उप्रान्त बेरुजु नहुने गरी कार्य सम्पादन गर्ने प्रक्रियाका लागि पालिकाको हिउँदे अधिवेशन पूर्णतयाः बेरुजु विवरणमाथिको छलफलमा केन्द्रित भएको छ’, प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले भने ।