close

झाँक्री फकाएपछि जुम्लाका २७ गाउँ छुई गोठमुक्त

झाँक्री फकाएपछि जुम्लाका २७ गाउँ छुई गोठमुक्त

Trulli
ADVERTISEMENT

जुम्ला- छुई प्रथालाई समाजबाट अन्त्य गर्ने अभियानमा जुम्लाका जनप्रतिनिधि जुटेका छन् । स्थानीय सरकार तथा सामाजिक संघसंस्था मिलेर महिला तथा धामीझाँक्रीमा चेतना फैलाउँदै गाउँलाई छुई गोठमुक्त गर्ने अभियानमा जुटेका हुन् । 


महिला तथा सरोकारवाला निकायहरूले तातोपानी गाउँपालिका वडा नं.- ४ हाँकुगाउँलाई छुई गोठमुक्त गरेको छ । तातोपानी गाउँपालिकाको आयोजना तथा सर्वाेदय नेपाल जुम्लाको समन्वयमा  महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिक रूपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुई गोठमुक्त गाउँ घोषणा गरिएको हो ।


तातोपानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष धीरज जैशीले महिला र धामीझाँक्रीलाई सचेत गराउँर्दै सामाजिक कुसंस्कारका रूपमा रहेको छुई प्रथा गाउँ वस्तीबाट हटाउने अभियानमा लागेको बताए ।


वडा अध्यक्ष धीरज जैशीले भने, ‘यो अभियान कुनै धामीझाँक्रीका विरुद्ध नभई महिलालाई स्वास्थ्य र पोषणयुक्त खानासहित सामाजिक तथा मानसिक हिंसाबाट बचाउने अभियान हो । यसमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको छ । ’ 


तातोपानी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डाँकाका अनुसार आवश्यक सूचकहरू पूरा गरेको लाम्रा, हियाखोला, जैतपुर बाइराका गाउँलाई छुई गोठमुक्त गरिएको हो । यस गाउँमा ५३ घरधुरीमा २६३ जनसंख्या रहेको छ । सबै घरधुरीलाई पुग्ने गरी सरसफाइका सामग्री पनि वितरण गरिएको डाँकाले बताए । 


जुम्लाका २७ गाउँवस्ती छुई गोठमुक्त


जुम्लाका ७ गाउँपालिका र एक नगरपालिकाका २१८ गाउँवस्तीमध्ये २७ गाउँवस्ती छुई गोठमुक्त भएका छन् । तिला गाउँपालिकाको पुरु गाउँसहित पोख्री, रावतवाडा, जोगीवाडा, ढिमकोट, चुलाकोट, थापागाउँ, डुङरी, खोलीगाउँ छुई गोठमुक्त भएका छन् भने तातोपानी गाउँपालिका, लाम्रा, श्रीनगर, हियाखोला, बाइराँका र जैतपुर गाउँ यसअघि नै छुई गोठमुक्त भइसकेका छन् ।


जुम्लामा सामाजिक विकृतिको रूपमा रहेको छुई प्रथा न्यूनीकरण गर्ने अभियान अहिले धमाधम भइरहेको छ । अहिले स्थानीय तह र सामाजिक संघसंस्थाको अभियानमा जुम्लाका २७ गाउँवस्ती छुई गोठमुक्त भएका छन् ।


महिनावारीको समयमा गोठमा बस्ने चलन अब भने धमाधम मानसिक रूपमै भत्किन थालेका छन् । धमाधम छुई गोठमुक्त अभियान चलिरहेको समयमा पछिल्लो समयमा यहाँका २७ गाउँलाई स्थानीय सरकार र साझेदार गैरसरकारी संस्थाको समन्वयनमा छुई गोठमुक्त घोषणा गर्दै अभियान तीब्र पारिएको छ ।


पछिल्लो समय तिला गाउँपालिका वडा नं.- ३ दानीवाडा र कठायतवाडा गाउँ र पातारासी गाउँपालिकाको वडा नं.- ४ लुम र भोडगाउँ छुई गोठमुक्त गाउँ घोषणा गरिएका छन् । 


तिला गाउँपालिकाका दानीवाडा कठायतवाडाका १७२ घरधुरीका ८६० र पातारासी- ४ लुमगाउँपालिका लुमगाउँको ३७४ घरधुरीका १ हजार ८७० स्थानीयवासी सहभागी भई छातीमा हात राखेर ‘हामी महिलाहरूलाई महिनावारीको समयमा गोठमा बसाउँदैनौँ र बस्दैनौँ’ भन्दै प्रतिवद्धतासमेत गरेका छन् ।


यसैगरी तिला गाउँपालिकाको पुरु, ढिमकोट, रावतवाडा, जोगिवाडा, पोख्री, चुलाकोट, डुग्री, खोलीगाउँ छुई गोठमुक्त घोषणा गरिएका छन् । हिमा गाउँपालिकाको कोइरेली, महावै पाथरखोला र पातारासीको माथि लोर्पा, तली लोर्पगाउँ छाउ गोठमुक्त गाउँ घोषणा भएका छन् ।