close

बालमन्दिरमा ३ वटा भवन निर्माण 

बालमन्दिरमा ३ वटा भवन निर्माण 

Trulli
ADVERTISEMENT

म्याग्दी- बेनी नगरपालिका-८ कालीपुलमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा ६४ लाख रुपैयाँभन्दा बढीको लागतमा ३ वटा भवन निर्माण भएका छन् । ४ वटा कक्षा कोठा र व्यापारिक प्रयोजनका लागि निर्माण भएको ४ कोठे भवनको आइतबार एक समारोहकाबीच उद्घाटन गरिएको छ ।

 

आर्थिक वर्ष २०७५÷०७६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाको २२ लाख ५५ हजार ३६८ रुपैयाँ अनुदान र विद्यालयको आन्तरिक स्रोतबाट १ लाख ३० हजार २७० गरी २४ लाख २९ हजार ६५७ रुपैयाँ लागतमा २ कोठे भवन निर्माण भएको थियो ।

 

विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीका अनुसार बेनी नगरपालिकाको शिक्षा शाखाको १५ लाख ६८ हजार ४६२ रुपैयाा अनुदान र विद्यालयको आन्तरिक स्रोतबाट ३० हजार गरी १६ लाख ८ हजार ४६२ रुपैयाँ लागतमा २ कोठे तथा विद्यालयको आन्तरिक स्रोतबाट २४ लाख २९ हजार ७३५ रुपैयाँ लागतमा ४ वटा सटरसहितको बहुउद्देश्यीय भवन निर्माण गरिएको थियो । 


बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ, वडा अध्यक्ष रामकृष्ण बराइली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रबहादुर महतले भवनको उद्घाटन गरेका हुन् । उद्घाटनपछि सो विद्यालयको व्यवस्थापन समितिको पूर्व अध्यक्षसमेत रहेका नगरप्रमुख श्रेष्ठले पूर्वाधार निर्माणले विद्यालयको पठनपाठन सहज हुने बताए ।


उनले सामुदायिक विद्यालय संचालन गर्न भौतिक पूर्वाधार र दरबन्दी अभाव मुख्य चुनौती भएको बताए । प्रस्तावित विद्यालयमा आवश्यकताको आधारमा दरबन्दी थप गर्ने उनको भनाइ छ । कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा २०७ विद्यार्थी अध्ययनरत छन् । यहाँ कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुने प्रअ केसीले जानकारी दिए ।


यस्तै, विद्यालय व्यवस्थापन समिति पुनर्गठनका लागि अभिभावकहरूमध्येबाट नेत्रबहादुर महत, खिमबहादुर परियार, लक्ष्मी बिक र टीका मिजार निर्वाचित भएका छन् । बैठकबाट व्यवस्थापन समितिमा पदाधिकारी चयन हुनेछन् । 


शिक्षक–अभिभावक संघको अध्यक्षमा दिलमाया थापा, सदस्यमा नरदेवी रसाइली, कान्छीमाया तामाङ, धनकुमारी किसान, कुसुम विक, इन्द्रेनी पुन, राजकुमार बिक र गौरीदेवी रिजाल चयन भएका छन् ।