close

मनहरिले ३३ करोडमा ५ वटा पक्की पुल बनाउँदै

मनहरिले ३३ करोडमा ५ वटा पक्की पुल बनाउँदै

Trulli
ADVERTISEMENT

मकवानपुर- मकवानपुरको मनहरि गाउँपालिकाले एकै पटक ५ वटा पक्की पुल निर्माण गर्ने भएको छ । हेटौँडासँग जोडिए पनि पिछडिँदै आएको मनहरिले ३३ करोड रुपैयाँ लगानीमा एकै पटक ५ वटा पक्की पुल निर्माण गर्ने भएको हो ।

 

मनहरि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ मा ५ वटा पक्की पुल निर्माण सुरु गर्ने भएको छ । गाउँपालिकाले पुल निर्माणका लागि ठेक्का पाएको एउटा निर्माण कम्पनीसँग सम्झौता गरिसकेको छ । गाउँपालिकाले ५ वटा पुलको एकै पटक शिलान्यास गर्ने योजना पनि बनाएको छ । 


मनहरिले चालू आवमा ७८ करोड रुपैयाँ बजेट ल्याएको थियो । ५ वटा पक्की पुलका लागि गाउँपालिकाले आफ्नै बजेटबाट ३३ करोड रुपैयाँ छुट्याएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।


‘हामीले आफ्नै बजेटबाट ५ वटा पक्की पुल बनाउँदै छौँ । जनतालाई वर्षामा ओहोरदोहोर गर्न समस्या थियो । अब पुल बनेपछि यी समस्या हल हुनेछन्’, उप्रेतीले भने । मनहरि- ३ र ४ नम्बर वडालाई जोड्न लामिटार र ट्वाङ्ग्रामा ६४.१५ मिटर लम्बाइको डबल स्पान पुल बन्ने भएको छ । ६ करोड ४९ लाख ६० हजार रुपैयाँमा बन्ने पुलको ठेक्का हिराचन-बानियाँ जेभीले पाएको छ ।


४ र ३ नम्बर वडाको गोलघर र मसिने जोड्ने पुल ७४.५५ मिटर लम्बाइको बन्नेछ । ६ करोड ५९ लाख ५० हजार ६३ रुपैयाँमा बन्ने डबल स्पानको पुलको ठेक्का हिराचन÷बानियाँ जेभीले नै पाएको छ । गाउँपालिकाले वडा– ३ को हाँडिखोला र कालदमार जोड्न ३५ मिटर लम्बाइको सिङ्गल स्पानको पुल निर्माण हुने अध्यक्ष उप्रेतीले जानकारी दिए । उनका अनुसार ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा बन्ने पुलको ठेक्का भैरव-नारायण-ज्ञानेश जेभीले पाएको छ ।


यसैगरी वडा- ३ कै भुन्द्रुङ र पालदमार जोड्न ९६.२५ मिटर लम्बाइको ट्रिपल स्पानको पुल बन्ने भएको छ । ८ करोड ६७ लाख ५ हजार ३२८ रुपैयाँमा निर्माण गर्न लागिएको पुलको ठेक्का हिराचन÷बानियाँ जेभीले पाएको हो । १ र २ नम्बर वडाको पार्ता र च्यापल जोड्ने ट्रिपल स्पानको ९७ मिटर लामो पुल निर्माण हुने भएको छ । ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा निर्माण हुने पुलको ठेक्का पनि हिराचन-बानियाँ जेभीले पाएको छ ।


५ वटै पुलको चौडाइ ७ मिटरको हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले जानकारी दिए । पुल निर्माणका लागि गाउँपालिकाले केही समयअघि निर्माण कम्पनीका तर्फबाट ज्ञानेश निर्माण सेवाका शिवप्रसाद चौलागाईं र गाउँपालिका अध्यक्ष एकराज उप्रेतीबीच सम्झौता भइसकेको छ । शिलान्यास कार्यक्रम रोकिएकोले पुल निर्माणको काम पनि अड्किएको छ ।


गाउँपालिकाले भैरव-नारायण-ज्ञानेश जेभीसँग सम्झौता गरे पनि हिराचन र बानियाँ निर्माण सेवासँग भने सम्झौता भएको छैन । अध्यक्ष उप्रेतीले करिब हप्ता दिनभित्रै हिराचन-बानियाँ जेभीसँग पुल निर्माणका लागि सम्झौता हुने जानकारी दिए । 


यसअघि नै भइसक्नुपर्ने सम्झौतामा हिराचन-बानियाँ जेभीले केही बुँदाहरू संशोधन गर्नुपर्ने माग उठाएपछि सम्झौता हुन नसकेको हो । हिराचन÷बानियाँ जेभीको उचित माग सम्बोधन गर्दै पुल निर्माणको ठेक्का सम्झौता तत्काल हुने अध्यक्ष उप्रेतीले बताए ।

 

अध्यक्ष उप्रेतीले तोकिएकै समयभित्र पुल निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । उनले निर्धारित समय सीमाभित्र पुल निर्माण सम्पन्न नगरे जरिमानाको भागिदार हुनुपर्ने बताए । 


‘जनताले धेरै दुःख पाइरहेका छन् । पुल निर्माण तोकिएकै समयभित्र सम्पन्न गर्नुपर्छ । यदि सम्पन्न नभएर जरिमाना लगाउँछौँ’, उनले भने । उनले पुल निर्माणमा गुणस्तरलाई ध्यान दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।


मनहरि मात्र नभई मकवानपुरका अन्य स्थानीय तहले पनि पूर्वाधार विकासतर्फ सडक र पक्की पुल निर्माणलाई प्राथमिकता दिएका छन् । हेटौँडासँगै जोडिएको मकवानपुरगढी गाउँपालिकाले पनि ४ वटा पक्की पुल निर्माण गर्दै छ ।

 

मकवानपुरगढीले संघीय र प्रदेश सरकारको बजेटबाट पुल निर्माण गरिरहेको हो । भीमफेदी गाउँपालिकाले पनि सडक र पक्की पुल निर्माणलाई प्राथमिकताका साथ काम गरिरहेको छ ।