close

अलैँचीको पकेट निर्माणका लागि पाथीभरा याङ्वरकले लगानी गर्दै

अलैँचीको पकेट निर्माणका लागि पाथीभरा याङ्वरकले लगानी गर्दै

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले पालिकाभित्रको १४० रोपनी क्षेत्रफलको जग्गामा अलैँची खेती अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट)मार्फत अलैँची खेतीका लागि गाउँपालिकाले चालू आर्थिक वर्षमा १२ लाख रुपैँयाँ लगानी गर्ने भएको हो । 


गाउँपालिकाको कृषि शाखाका प्रमुख निकेश भट्टराईका अनुसार कृषक समूह-कृषि सहकारी संस्था-निजी कृषि फर्महरूमार्फत एउटै क्लस्टरमा अलैँची खेतीका लागि गाउँपालिकाले लगानी गर्न लागेको हो । अलैँची पकेट कार्यक्रम संचालन गर्ने पाथीभरा याङ्वरक जिल्लाकै पहिलो स्थानीय तह हो । 


यसअघि पकेट विकास कार्यक्रममा मेरिङ्देन, मिक्वाखोला र फक्ताङ्लुङले तरकारी बाली तथा प्लास्टिक घरमा गरिने खेतीका लागि कृषक समूह-कृषि सहकारी संस्था-निजी कृषि फर्महरूसँग आवेदन मागेका थिए । कृषि शाखा प्रमुख भट्टराईका अनुसार यो कार्यक्रम गाउँपालिकाको चालू आवको वार्षिक स्वीकृत कार्यक्रमअनुसार संचालन हुनेछ । 


गाउँपालिकाले इच्छुक कृषक समूह-कृषि सहकारी संस्था-निजी कृषि फर्महरूले आवेदन दिन सक्ने तर पकेट निर्माणका लागि एउटै क्लस्टरको कम्तीमा ७ हेक्टर अर्थात् १४० रोपनी जग्गा अनिवार्य भएको हुनुपर्ने शर्त राखेको छ । जमिनको स्वामित्व आफूसँग हुने कृषक समूह-कृषि सहकारी संस्था-निजी कृषि फर्महरूले स्वामित्व खुल्ने कागजात र भाडाको भए जग्गाधनीसँग कम्तीमा ५ वर्षको सम्झौता भएको कागजात पेस गर्न भनेको छ । 


संस्था-समूह दर्ता र नवीकरण प्रमाणपत्रको प्रतिलिपि तथा बैठकको निर्णय अनिवार्य गरिएको छ । यस्तै, निजी कृषि फर्महरू र कृषक समूह-कृषि सहकारी संस्थाहरू सबैलाई अनुदान माग गर्ने रीतका लागि सम्बन्धित वडापालिकाको सिफारिस पनि अनिवार्य गरिएको छ ।