close

यसरी सम्भव भयो इस्माका सबै वडामा हेलिप्याड (भिडियो खबर)

यसरी सम्भव भयो इस्माका सबै वडामा हेलिप्याड (भिडियो खबर)

ADVERTISEMENT

गुल्मी- हेलिकोप्टर बस्ने ठाउँ नहुँदा डेढ वर्ष पहिले गुल्मीको सत्यवती पहिरोमा परेका घाइतेको २ दिनपछि उद्धार गरियो । इस्मा गाउँपालिकामा गत १८ असारमा पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति गर्‍यो । ३ जना त घाइते नै भए । 


बर्खाका कारण सडक मार्ग सबै बन्द थिए । हेलिकोप्टर बस्ने ठाउँ नभएकाले १० घन्टासम्म घाइतेको उद्धार गर्न सकिएन । अन्तिममा केहीलाई बोकेर र केहीलाई खोलाको बगरमा हेलिकोप्टर राखेर उद्धार गरियो ।

 

सोही अवस्थालाई दृष्टिगत गरेर इस्मा गाउँपालिकाले ‘एक वडा, एक हेलिप्याड’ निर्माण गरेको छ । इस्माले प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई प्रयोग गरेर प्रत्येक वडाको बीच भागमा १/१ वटा हेलिप्याड निर्माण गरेको गाउँपालिका अध्यक्ष लक्ष्मण विष्टले जानकारी दिए ।

 

आपतकालीन अवस्थामा मात्र हेलिप्याडको प्रयोग हुने भएकाले तत्काल उपयोगहीन भनेर आलोचना गर्नुको अर्थ नभएको उनले प्रतिक्रिया दिए ।


जिल्लाका धुर्कोट गाउँपालिकाले पनि सबै वडामा हेलिप्याड निर्माण गर्ने योजना बनाएको छ । त्यसमध्ये केही वडामा निर्माण भइसकेका छन् भने सत्यवती गाउँपालिकाले पालिकाको केन्द्र भाग भएकाले अहिलेलाई वडा नम्बर ४ को लिम्घामा हेलिप्याड निर्माण गरेको छ । 


हेलिप्याड एयरपोर्टजस्तो बाह्रैमास प्रयोगमा आउँदैन । तर, आपत्कालीन अवस्थामा नभई नहुने भएकाले विपद् पूर्वतयारीका दृष्टिकोणले स्थानीय तहको यो काम प्रशंसनीय रहेको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक लम्सालले बताए ।

 

‘पहाडमा बाढीपहिरोको डर बर्खामा मात्रै भए पनि दुर्घटनाको जोखिम बाह्रैमास भएकाले हेलिप्याड निर्माण अरूले पनि गर्नुपर्ने हो,’ उनले भने, ‘निर्माण गरेकाहरूको काम महत्त्वपूर्ण छ ।’


कैयौँ ठाउँमा समयमै उद्धार नभएका कारण गर्भवती र सुत्केरी महिलाको अकालमै ज्यान जाने गरेको छ भने बाढीपहिरो र दुर्घटनामा पनि समयमै उद्धार नभएका खबर सुन्ने र देख्ने गरेका छौँ । 

 

गुल्मीमा भूगोलको हिसाबले घाइतेहरूको उद्धार गरेर थप उपचार गर्न गाडीमा सदरमुकाम तम्घासबाट पनि पाल्पा–बुटवल पुग्न ५ घन्टा एम्बुलेन्सलाई लाग्छ । त्यो पनि हिउँदमा मात्रै सम्भव छ ।

 

बर्खामास अधिकांश समय पाल्पा-बुटवल सडक अवरुद्ध हुन्छ । त्यसैले पनि आपतकालीन उद्धारका लागि प्रत्येक वडामा निर्माण गरिएका हेलिप्याड स्थानीयका लागि खुसीको कुरा भएको इस्मा गाउँपालिका वडा नम्बर २ की सीता कुँवर सुनाउँछिन् ।

 

निर्माण गर्नेबित्तिकै उपयोग नहुने भएकाले केही स्थानीय तहले वडा-वडामा निर्माण गरेका हेलिप्याडका विषयमा आलोचना पनि भइरहेको छ । करोडौँ मूल्यका सडक खनेर अलपत्र परेका कैयौँ उदाहरण गाउँघरमै भएका बेला हेलिप्याड निर्माणको काम भने स्वागतयोग्य छ ।