close

देवदहको ३ सय बिघा जग्गामा अब बाह्रैमास सिँचाइ

देवदहको ३ सय बिघा जग्गामा अब बाह्रैमास सिँचाइ

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको देवदह नगरपालिका भवानीपुर देविदमारमा सिँचाइ योजना शिलान्यास गरिएको छ । सिँचाइ योजनाको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले शिलान्यास गरे । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको ४ करोड ६७ लाख १६ हजार रुपैयाँमा यो योजना सुरु गरिएको हो ।

 

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले विकास निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । ‘प्रदेश सरकार गठनसँगै नागरिकले अनुभव गर्ने गरी विकास निर्माणको काम अगाडि बढिरहेको छ । स्थानीयको सक्रियताले मात्र सरकारले अगाडि सारेका योजना शतप्रतिशत कार्यान्वयन हुने हुँदा खबरदारी आवश्यक छ’, मन्त्री चौधरीले भने ।


अहिले बजेटको आकार बढेकाले विकास निर्माणको कामले गति लिएको दाबी गर्दै मन्त्री चौधरीले प्रदेशभित्रका नागरिकलाई ७० प्रतिशत सिँचाइ सुविधा पुर्‍याउने योजना रहेको जानकारी दिए । सिँचाइ विकासले मात्र कृषि उत्पादन वृद्धि हुने हुँदा प्रदेश सरकारले यसमा जोड दिएको उनको भनाइ छ ।


लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले उत्पादन वृद्धिले मात्र देशको विकास हुने बताए । सिँचाइ अभावले बाँझो रहेका जग्गामा कृषि उत्पादन बढाउन प्रदेश सरकारले सिँचाइका योजनालार्ई विशेष प्राथमिकता दिएर अगाडि बढाएको उनले जानकारी दिए ।


‘कृषि उपजको उत्पादन वृद्धिले मात्र आत्मनिर्भर हुन सकिन्छ । त्यसका लागि सिँचाइको राम्रो व्यवस्था एक मात्र विकल्प हो । उत्पादन वृद्धि भई कृषकको जीवन स्तर माथि उठाउन पनि सिँचाइ आवश्यक छ’, डा. न्यौपानेले भने ।

 

देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले आयोजना निर्माणमा दिगोपन दिन स्थानीयको भूमिका महत्त्वपूर्ण हुनेमा जोड दिइन् । ‘नगरपालिकाले हरेक वडालाई पकेट क्षेत्रको रूपमा घोषणा गरेर अगाडि बढिरहेको छ । व्यावसायिक कृषि उत्पादनले मात्र आयात प्रतिस्थापन गर्न सकिन्छ’, गुरुङले भनिन् ।


भवानीपुर देवीदमार सिँचाइ जल उपभोक्ता समिति अध्यक्ष मनबहादुर चौधरीले सिँचाइ आयोजना निर्माणपछि यस क्षेत्रमा कृषि उत्पादन दोब्बर हुने बताए । 

 

कार्यक्रममा लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारी, देवदह वडा नम्बर ४ का वडाध्यक्ष दण्डपाणि भट्टराई, समितिका उपाध्यक्ष सीता वस्तीलगायतले सिँचाइ आयोजनाबारे बोलेका थिए । योजना सम्पन्न भएसँगै करिब ३ सय बिघा क्षेत्रमा सिँचाइ सुविधा पुग्ने सिँचाइ डिभिजन कार्यालय रूपन्देहीले जनाएको छ ।