close

‘प्रदेशलाई खबरदारी गर्ने बेला आयो’ 

‘प्रदेशलाई खबरदारी गर्ने बेला आयो’ 

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णी थारुले प्रदेशलाई खबरदारी गर्न र जनमुखी बनाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् ।

 

क्रियाशील पत्रकार महिला रूपन्देहीले बुटवलमा आयोजना गरेको संघर्षशील पत्रकार महिला सम्मान कार्यक्रममा उपसभामुख थारुले मिडियाले गलत विषवस्तुलाई गहिराइमा पुगेर सार्वजनिक गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

 

घरदेखि सरकारसम्मको व्यवस्थापनका लागि सीप जरुरी हुने हुँदा महिलालाई आत्मनिर्भर बनाउन पनि यसले सहयोग पुग्ने उनको बुझाइ छ । उपसभामुख थारुले मिडिया क्षेत्र सेवामूलक भए पनि चुनौती उत्तिकै रहेकाले महिला सहभागितामा जोड दिनुपर्ने धारणा राखिन् ।


बुटवल उपमहानगर उपप्रमुख गुमादेवी आचार्यले विभेदरहित समाज निर्माण जरुरी रहेको बताउँदै नगरले महिला पत्रकारका लागि कानुनी साक्षरतासम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने गरी कार्ययोजना अगाडि सारेको जानकारी दिइन् ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष भरत केसीले कोभिड महामारीमा अग्रभागमा खटिने सुरक्षाकमी र स्वास्थ्यकर्मीसरह मिडियाकमीलाई पनि अतिरिक्त सेवा-सुविधा उपलब्ध गराउन माग गरे ।


मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले पत्रकारितामा शुद्धीकरण जरुरी रहेकाले यसको सुरुआत पत्रकार महासंघबाटै हुनुपर्ने बताए । संघर्षशील पत्रकार महिला २०७४ बाट माया गौतम र २०७६ बाट दुर्गा पौडेललाई सम्मान गरिएको थियो ।


क्रियाशील पत्रकार महिला रूपन्देहीकी अध्यक्ष कल्पना तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित महिला पत्रकार गौतम र पौडेल, पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्षद्वय नीरु गौतम, दिनेश पाण्डे, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, प्रेस युनियन रूपन्देहीकी सभापति रेखा भुसाल, संस्थापक अध्यक्ष भगवती पाण्डे, बिन्दु भट्टराई, किसमती चौधरीलगायतले कोभिडको नाममा महिला पत्रकार पीडित भएको गुनासो गरे ।