close

नयाँ लघु उद्यमी खोज्दै फुङ्लिङ

नयाँ लघु उद्यमी खोज्दै फुङ्लिङ

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले चालू आर्थिक वर्षमा लघु उद्यम विकास मोडलमा नयाँ लघु उद्यमी सिर्जना गर्न करिब २४ लाख रुपैयाँ खर्चिने भएको छ । 

 

नगरपालिकाले लघु उद्यम विकास कार्यक्रममार्फत प्रतिस्पर्धामा छनोट भएका व्यवसाय विकास सेवाप्रदायक संस्थामार्फत नयाँ लघु उद्यमी सिर्जना गर्न २३ लाख ८० हजार रुपैयाँ खर्च गर्न लागेको हो ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीका अनुसार लघु उद्यम विकास कार्यक्रमका लागि नगरले चालू वर्षमा ३५ लाख रुपैयाँ खर्च गर्न लागेको छ । ‘नयाँ लघु उद्यमी सिर्जनाका लागि आवश्यकताका आधारमा पुनर्ताजगी र सीप विकास तालिम सञ्चालन गर्न ४ लाख ८० हजार रुपैयाँ खर्चिंदै छौँ,’ उनले भने ।

 

अतिविपन्न परिवारका लागि कम्तीमा १० जनालाई समावेश गर्न मिल्ने गरी साझा सुविधा केन्द्र स्थापनाका निम्ति ५ लाख रुपैयाँ खर्च छुट्याइएको उनले जानकारी दिए । सम्भाव्य उत्पादनको उत्पादकत्व र बजार प्रतिस्पर्धा वृद्धिका लागि कम्तीमा ५ जनाको समूहलाई प्रविधि हस्तान्तरण गर्न १ लाख ४० हजार रुपैयाँ खर्चिने नगरपालिकाको योजना छ ।

 

यस्तो प्रविधि हस्तान्तरणका लागि ८० प्रतिशत अनुदान लघु उद्यम विकास कार्यक्रममार्फत बेहोरिनेछ भने २० प्रतिशत लगानी प्रविधि लैजाने समूहको हुनेछ ।

 

अघिल्लो आर्थिक वर्षसम्म सेवाप्रदायक संस्थाको रूपमा गैरसरकारी संस्थाले लघु उद्यम विकास कार्यक्रम कार्यान्वयन हुँदै आएको थियो । तर, यो वर्ष घरेलु कार्यालय ताप्लेजुङ प्रमुख नियामक निकायको रूपमा रहने व्यवस्था परिवर्तन भई चालू वर्षबाट कार्यक्रम स्थानीय तहको नियमनमा कार्यान्वयनमा जाने भएको हो ।