close

चाँगुनारायणका सुत्केरी लिन घरै पुग्छ एम्बुलेन्स

चाँगुनारायणका सुत्केरी लिन घरै पुग्छ एम्बुलेन्स

Trulli
ADVERTISEMENT

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले सुत्केरी महिलाका लागि आमा सुरक्षा कार्यक्रम ल्याएको छ । नगरभित्रका प्रत्येक सुत्केरी आमालाई सुरक्षित रूपमा अस्पताल र घर ल्याउन कार्यक्रम सुरु गरिएको हो । 

 

नगरपालिकाले कार्यक्रममार्फत प्रत्येक सुत्केरी महिला र नवजात शिशुलाई न्याना कपडा, बाटो खर्च तथा सुत्केरी भत्ता वितरण गर्दै आएको छ । नगर अस्पतालअन्तर्गत बर्थिङ सेन्टर सेवासहितको यस्तो सुविधा उपलब्ध गराइएको हो । 

 

नगरप्रमुख सोमप्रसाद मिश्रका अनुसार नगरमा सुत्केरी व्यथा लागेको थाहा पाउनेबित्तिकै नगर एम्बुलेन्स लिन र पुर्‍याउन जाने गरेको छ । ‘सुत्केरी आमालाई निःशुल्क घरमै लिन जाने र अस्पतालबाट पनि पुर्‍याउने गरेका छौँ,’ उनले भने, ‘उहाँहरूलाई न्याना कपडासमेत वितरण गर्ने गरेका छौँ ।’

 

अस्पताल नर्सिङ निरीक्षक चञ्चला सुवालले लामो समयदेखि सेवा सञ्चालनमा ल्याए पनि जनप्रतिनिधि नभएका कारण बन्द भएको सुनाउँछिन् । उनले भनिन्, ‘जनप्रतिनिधि आएसँगै सेवा पनि सञ्चालन भयो । गर्भवती महिलाका लागि आवश्यक पर्ने सबै सेवा हामीले दिएका छौँ ।’

 

विशेष प्रकृतिका आमालाई नगरपालिकाले सेवा दिन नसक्ने हुँदा अन्य अस्पतालमा रिफर गर्नुपर्ने अवस्था रहेको उनले सुनाइन् । अस्पतालका अनुसार चालु आवयता ८ महिलाले यो सेवा लिएका छन् । नगरले गर्भवती महिलालाई आफ्नै नगरमा सेवा दिने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको हो । 

 

सेवा लिने प्रत्येक महिलालाई नगरले बाटो खर्च ८ सय, भत्ता २ हजार र आमाका लागि न्याना कपडासमेत वितरण गर्दै आएको छ । 


नगर अस्पताल सञ्चालनमा आएसँगै शल्यक्रिया, आईसीयूलगायत सेवा सञ्चालनमा ल्याउने योजना रहेको जनस्वास्थ्य अधिकृत लोकेन्द्रबहादुर पौडेलले बताए । यी सेवा सञ्चालन गरिएपछि सेवाग्राहीलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने झन्झट हट्ने उनले जानकारी दिए ।