close

यसरी तोडियो ९ महिनापछि ओडारको बास

यसरी तोडियो ९ महिनापछि ओडारको बास

Trulli
ADVERTISEMENT

जुम्ला– ९ महिनादेखि जुम्लाको ओडारमा बस्दै आएकी बेवारिसे बृद्ध महिलासहित चार जनालाई उद्धार गरिएको छ । सडक मानवमुक्त कर्णाली प्रदेश घोषणाको कार्यान्वयन अभियान अन्तरर्गत बुधबार प्रशासनको समन्वय र चन्दननाथ नगरपालिकाको सहयोगमा बृद्ध महिलासहित चार जनालाई बेवारिसे सडक मानवलाई उद्धार गरिएको हो ।


चन्दननाथ नगरपालिका–३ स्थित गच्चु साँघु ओडारमा बस्दै आएकी दैलेख स्थायी घर बताउने बृद्ध महिला कमला कुमाई, चन्दननाथ नगरपालिका–९ निवासी पुनि तिरुवा, तातोपानी गाउँपालिका–५ निवासी बाहुनी लाटी र सिंजा गाउँपालिका घर बताउने प्रेमकली नेपालीलाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए ।


‘१६ पुसमा सडक मानवको तथ्यांक संकलन गरी सामाजिक विकास मन्त्रालयसँंगको सहकार्यमा उद्धार गर्ने तथा आश्रयका लागि सुर्खेत पठाउने निर्णय भए अनुसार पहिलो चरणमा चार जनालाई उद्धार गरिएको हो,’ उनले पालिकाखबरसँग भने  ।


उद्धार गरी पठाएका चारजना महिला मध्ये एक जना स्पष्ट बोल्न नसक्ने र र अपांगता भएका भएपनि अन्य तीन जना भने मानसिक समस्या भएका छन् । शारीरिक तथा मानसिक अपांगता भएका बेवारिसे सडक मानवलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा सुर्खेतस्थित मानव सेवा आश्रममा पठाइएको प्रजिअ थापाले जानकारी दिए ।


उद्धार गरिएकी बृद्ध बेवारिसे महिलाले भने ओडारबाट अन्त कतै नजाने बताउदै आएकी छन् । तर प्रशासनले बृद्ध महिलालाई मात्र नभई अन्य तीनलाई पनि पठाउने गरी समन्वय गर्दा चार जनाको उद्धार भएको प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले बताए ।


चार जनालाई लिएर चन्दननाथ नगरपालिकाका विपद् व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत गएका छन् । उनका अनुसार मानसिक रुपमा समस्या भएका, कहिले गाडी नचेढको हुनाले चुनौतीका बाबजुत पनि सुर्खेत लगिएको हो ।


राज्यको दायित्व र जिम्मेवारी अनुसार सडक मानवको उद्धारमा प्रहरी प्रशासन र नगरपालिका खटिएको चन्दननाथका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले बताए । उनका अनुसार चार जना सडक मानवलाई सुर्खेतसम्म लैजाने सबै खर्च नगरपालिकाले व्यवहोरेको छ ।


सुर्खेतमा बसोबासका लागि प्रशासनले समन्वय गरेको छ । महिनादेखि ओडारमा बस्दै आएकी बृद्ध महिलालाई उद्धार गरेर प्रहरी प्रशासन, नगरपालिकाले निकै प्रशंसनिय काम गरेको स्थानीय जानकी रावलले बताइन् ।


पहिला ओडार छोडेर अन्त कतै नजाने बताई रहेकी बृद्ध कमला कुमाईले आफुलाई सुरक्षित स्थान पठाउन लागिएको भन्दै निकै खुसी थिइन् । कर्णाली प्रदेश सडक मानवमुक्त घोषणा भइसकेकोले सडकमा बेवारिसे देखिने सबैलाई उद्धार र राहतमा प्रहरी प्रशासन नियमित जुटिरहेका छन् ।