close

ताप्लेजुङमा साढे ८५ हजार मतदाता

ताप्लेजुङमा साढे ८५ हजार मतदाता

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङमा गत ५ पुससम्म ८५ हजार ४ सय ६९ जना मतदान योग्य नागरिकले जिल्लास्थित निर्वाचन कार्यालयमा नाम दर्ता गराएका छन् । ८६ हजार ७ सय ७२ जनाले नाम दर्ता गराएका थिए । नेपालको विद्यमान कानुनमा १८ वर्ष पूरा भएका नेपाली नागरिकलाई मताधिकार छ । 


निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार जिल्लामा ४५ हजार २ सय २१ पुरुष र ४० हजार १ सय ४८ जना महिला गरी ५ पुससम्म ८५ हजार ४ सय ६९ जना मतदान योग्य नागरिक छन् ।

 

४६ हजार १ सय १६ पुरुष र ४० हजार ६ सय ५६ महिलाले नाम दर्ता गराएकामा १ हजार ३ सय ३ जना भने १८ वर्षभन्दा कम उमेरका नागरिकले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

 

निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी विपिन दुलालका अनुसार यो संख्या ५ पुससम्मको अद्यावधिक विवरण हो । अन्तिम अद्यवाधिक विवरणमा यो संख्यामा केही थपघट हुने अवस्था रहेकोसमेत उनले बताए । 

 

‘५ पुससम्मको नाम दर्तामा सबैभन्दा बढी मतदाता फुङ्लिङ नगरपालिकाका देखिएका छन् । फुङ्लिङमा ८ हजार ३ सय ९८ पुरुष र ८ हजार २५६ महिला गरी १६ हजार ७ सय ४४ जना मतदाता छन्,’ दुलालले भने ।

 

यस्तै, सिरिजंघामा ५ हजार ९ सय ४९ पुरुष र ५ हजार २ सय २४ महिला गरी ११ हजार १ सय ७३ जना मतदाता छन् । आठराई त्रिवेणीमा ४ हजार ९ सय १ पुरुष र ४ हजार ३ सय ६९ महिला गरी ९ हजार २ सय ७० तथा पाथीभरा याङ्बरकमा ४ हजार ८ सय ७७ पुरुष र ४ हजार ३ सय ४ महिला गरी ९ हजार १ सय ८१ जना मतदाता छन् ।

 

फक्ताङ्लुङ गाउँपालिकामा ४ हजार ७ सय ५५ पुरुष र ३ हजार ९ सय २९ महिला गरी ८ हजार ६ सय ८४, सिदिङ्वामा ४ हजार ६ सय ६० पुरुष र ३ हजार ८ सय ६८ महिला गरी ८ हजार ५ सय २८ र मेरिङ्देनमा ४ हजार ४ सय ५२ पुरुष तथा ३ हजार ७ सय ९६ महिला गरी ८ हजार २ सय ४८ जना मतदाता छन् । 


मैवाखोला गाउँपालिकामा ३ हजार ८ सय २५ पुरुष र ३ हजार ३ सय ९६ महिला गरी ७ हजार २ सय ३१ तथा मिक्वाखोलामा ३ हजार ४ सय ९४ पुरुष र २ हजार ९ सय ६ महिला गरी ६ हजार ४ सय जना मतदाता छन् ।