close

समाजले तिरस्कार गरेपछि कुष्ठ रोगीको गोठमा बास 

समाजले तिरस्कार गरेपछि कुष्ठ रोगीको गोठमा बास 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुरामा घर-समाजबाट तिरस्कृत कुष्ठ रोगी वृद्धाको बास गोठमै हुने गरेको छ । बाजुराको हिमाली गाउँपालिका वडा नम्बर ७ बाधुकी ७० वर्षीया अनकला आउजी घरपरिवार र समाजबाट तिरस्कृत भएकी हुन् ।

 

अनकलालाई कुष्ठ रोग लागेको सुइँको पाएपछि अलग्गै गोठमा राखिएको छ । अनकलालाई कुष्ठरोग लागेको १ वर्ष पहिला थाहा भएको थियो । आइएनएफ नामक गैरसरकारी संस्थाले उनलाई नेपालगञ्ज लगेर उपचार सुरु गरेको थियो । 

 

केही महिना औषधी खाएपछि गाउँ फर्केकी उनलाई रोग सर्छ भनेर घरपरिवारले गोठमा अलग्गै राखेको हो ।


 
‘रोग सर्छ भनेर घरपरिवार र समाजले शौचालय जानसमेत रोक लगाएका छन्,’ अनकलाले रुँदै भनिन्, ‘घरमा बुहारी शर्मिला आउजीले ताला लगाइन् । ३ महिनादेखि खुला ठाउँमा शौच गर्दै आएकी छु ।’

 

घरपरिवारले गोठमा थन्काइदिएपछि उनले खाना पनि त्यहीँ पकाएर खान्छिन् । ‘बुढेसकालमा घरपरिवारले तिरस्कृत गरेपछि आफैँ दाउरा, पानीको जोहो गरेर खाना पकाउने गरेकी छु’, अनकलाले भनिन् । 

 

रोग लागेको भनेर सबैले हेलाहोचो गर्ने र नछुने गरेको उनले बताइन् । चिसोमा गोठमा एकसरो लुगाले आङ ढाक्नुपरेको उनको गुनासो छ ।


 
अनकला बस्ने गोठ छेउमा शौचालय भए पनि बुहारीले त्यसमा ताल्चा ठोकेर माइती गएकी छन् । मुम्बई रहेका छोरा कालिमान आउजीलाई आफ्नो वेदना पोखेपछि सँगै राख्न भने पनि बुहारीले बेवास्ता गरेको उनी सुनाउँछिन् ।

अनकलाका श्रीमान धनवीरे आउजीको मृत्यु भइसकेको छ । ‘घरपरिवारले त अलगै राखेका छन्, गाउँ-समाजले पनि अपहेलना गछ’, उनले भनिन् ।


 
२ पुस्ता पहिला अनकलाकी सासू नाता लाग्ने साउनी आउजीलाई पनि कुष्ठरोग लागेको गाउँलेले बताए । उनलाई पनि गाउँलेले ओडारमा राखेका थिए । त्यही ओडारमै मृत्यु भएको थियो । स्वास्थ्यकर्मी ओमजंग शाहीले अनकलालाई कुष्ठरोग लागेको थाहा पाएपछि घरपरिवारले विभेद गरेको देखिएको बताए ।

 

‘अनकलाले औषधी खाएको १० महिना भइसकेकाले यो रोग सर्दैन । १२ महिनासम्म औषधी खाए पूरै निको हुन्छ । कुष्ठ रोगीले आगो, पानीबाट अलग हुनुपर्छ । आफैं खाना पकाउँदा हात जल्ने सम्भावना हुन्छ’, शाहीले भने ।
 
कुष्ठ रोग आँखाले देख्न नसकिने माइकोब्याक्टेरियम लेप्र नामक सूक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो । यो रोगले खासगरी छाला र स्नायुमा असर गर्छ ।  कुष्ठरोग लागेपछि हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाएजस्तो हुने शाही सुनाउँछन् ।