close

बेरुजु रकमको हिसाब माग्दा वडा अध्यक्षले हाने मुक्का

‘ललिता निवास खाँदा हुन्छ, मैले १-२ लाख खान हुँदैन ?’

बेरुजु रकमको हिसाब माग्दा वडा अध्यक्षले हाने मुक्का

‘ललिता निवास खाँदा हुन्छ, मैले १-२ लाख खान हुँदैन ?’

Trulli
ADVERTISEMENT

दैलेख- बेरुजु रकमको हिसाब मागेका वन समितिका सदस्यलाई आठबिस नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मुक्तिप्रसाद उपाध्यायले मुक्का हानी नीलडाम हुने गरी कुटपिट गरेका छन् ।


उनकको नाममा १ लाख ८४ हजार रुपैयाँ बेरुजु देखिएको र ६ वर्षभन्दा बढी भइसक्दासमेत अध्यक्षले आफ्नो नामको बेरुजु नतिरेपछि समितिले बेरुजु तिर्नका लागि पटकपटक पत्राचार  गर्‍यो । तर, वास्ता भएन, उल्टै पत्र काट्ने र सूचना टाँस्नेमाथि वडा अध्यक्षले मुक्का हानी कुटपिट गरेका हुन् ।


वडा अध्यक्ष उपाध्याय सातओखल नौलो थलो सामुदायिक वन उपभोक्ता समिति आठबिस- ८ का अध्यक्षसमेत हुन् । वन समितिको अध्यक्ष हुँदा उनले अनियमित रूपमा पुर्जी दिने, दाउरा काट्ने, वन विनास गर्ने गरेका थिए । फजुल खर्च गरेपछि उनको नाममा खर्चको अडिट गर्दा बेरुजु निस्किएको थियो ।  उनका नाममा आएका बेरुजु रकम अहिलेको समितिले माग्यो । समितिले माग्दा उनले समितिका मानिसहरू मात्र होइन, अन्य सबैलाई धम्क्याउन सुरु गरे ।


बेलाबेला बेरुजु तिर्न सूचना निकालेको भए पनि उनले सूचना टाँसेको स्थानमा गई सूचना च्यातेर उल्टो समितिका पदाधिकारीहरूलाई कुटपिट गर्ने गरेका छन् । जनताले न्याय नपाएको वन समितिका कार्यवाहक अध्यक्ष लोकराज कार्कीले गुनासो गरे । केही समयअघि कुटपिटपछि वन समितिले इलाका    प्रहरी कार्यालय राकममा कुटपिट निवेदन दिएको भए पनि अहिलेसम्म निवेदन उपर सुनुवाइ भएको छैन ।


इलाका प्रहरी कार्यालय राकममा कुटपिटको निवेदन दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो तर जनप्रतिनिधिलाई थुन्न नमिल्ने भन्दै कुटपिट निवेदनमा कुनै पनि छलफल नगरी वडा अध्यक्षलाई सदरमुकाम पठाइएको कार्कीले बताए ।


बेरुजु नतिरेकाले कार्यबाहक अध्यक्षसहितको टोली अहिले बेरुजु रकम असुल गरिदिन माग गर्दै डिभिजन वन कार्यालय दैलेखसँग निवेदन दर्ता गराएको छ । नेपाली कांग्रेसबाट विजयी भएका उपाध्यायले रकम नदिएको बारेमा कांग्रेस, नेकपालगायतका पार्टीमा र आठबिसकोट नगरपालिकामा समेत जानकारी गराएको तर कहीँ कतैबाट सुनुवाइ नभएको वन समितिको गुनासो छ ।


सामुदायिक वनमा मनोमानी ढंगले डोजर चलाएको आरोप


सामुदायिक वनमा मनोमानी ढंगले डोजर चलाएको स्थानीयले आरोप लगाएका छन् । जनप्रतिनिधि भइसकेपछि उपाध्यायले वडाबाट गत आर्थिक वर्षमा ६ लाख रुपैयाा बजेट विनियोजन गरी सामुदायिक वनमा मनोमानी ढंगले डोजर प्रयोग गरेको स्थानीयको आरोप छ । अरूलाई रूख काट्न पुर्जी चाहिने र अध्यक्षले चाहेको बेलामा कुनै पुर्जी नलिने र मनोमानी ढंगले वन फाँड्ने गरेको समितिका सदस्यको आरोप छ ।  


सामुदायिक वनको नीतिअनुसार कुनै पनि निकायले काम गर्दा जंगल मासिने अवस्था आएमा डिभिजन वन कार्यालय, समिति र अन्य निकायसँग समन्वय गर्नुपर्ने भए पनि उपाध्यायले मनोमानी ढंगले काम गरेको आरोप छ । उनले विगत ६ वर्षदेखि सामुदायिक वनको नियमविपरीत गई विनापुर्जी वन विनाश गर्ने गरेको सातओखल नौलोथलो सामुदायिक वनका उपभोक्ता समिति सदस्यले आरोप लगाएका छन् ।


डिभिजन वन कार्यालय अदालत जाने तयारीमा


उपभोक्ता समितिले प्रमाणसहित लिखित निवेदन पेस गरेमा डिभिजन वन कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । पीडितहरूले डिभिजन वन कार्यालय दैलेखमा मुद्दा दर्ता गरिसकेपछि छानबिन हुने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत नरबहादुर क्षत्रीले जानकारी दिए ।  ‘रकम असुलीका लागि अदालतमा मुद्दा दर्ता गर्छौं । ठगीको बोधार्थ अख्तियारलाई समेत जानकारी गराउनेछौँ’, उनले भने ।


पैसा नर्तिने वहानामा वडा अध्यक्षले वन कार्यालयलाई विभिन्न आरोप लगाएको भन्ने सुन्नमा आएकोले छिट्टै रकम असुल गर्नेतर्फ वन कार्यालय लाग्ने उनको भनाइ छ ।


आठबिसकोट नगरपालिका- ८ का वडा अध्यक्ष उपाध्याय भन्छन्, ‘मैले जनताको घरमा विद्युत् ल्याउनका लागि १ लाख ८४ हजार खर्च गरेको हुँ । जनताले तिर भनेपछि तिर्छु, नत्र तिर्दिनँ ।’


‘केन्द्र सरकारमा बसेकाले ललिता निवास त खाए । उनीहरूलाई केही भएको छैन । जाबो एक-दुई लाखको कुरा कसैलाई केही हुँदैन’, उनी भन्छन्, ‘नेकपाले देश कब्जा गर्न हुन्छ, मैले त्यति गर्न हुँदैन ?’ अहिलेको समितिमा रहेकाहरूको नियत पनि राम्रो नभएकाले रकम नतिर्ने वडा अध्यक्ष बताउँछन् ।