close

तिलोत्तमा खुल्यो भूमिहीन समस्या समाधान आयोगको इकाइ

तिलोत्तमा खुल्यो भूमिहीन समस्या समाधान आयोगको इकाइ

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन इकाइ कार्यालय स्थापना गरिएको छ । आयोगसँग हालै भएको सम्झौताअनुसार तिलोत्तमाले लगत संकलन इकाइ कार्यालय स्थापना गरेको हो ।
 
इकाइ कार्यालयको नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गरे । तिलोत्तमा नगरस्तरीय भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी लगत संकलन एवं सहजीकरण समितिको पहिलो बैठकपछि इकाइ स्थापना गरिएको हो ।


 
समितिको बैठकले इकाइमा रहने प्राविधिक तथा अन्य १६ जना कर्मचारीको व्यवस्थापनलगायत निर्णय गरेको नगर प्रवक्ता सुरेन्द्र श्रीले बताए । ‘बैठकले अनुसूची २ बमोजिमको विवरण आयोगमा पठाउने, प्रशासनिक काम तत्काल मिलाउने र त्यसपछि आयोगलाई सूचना प्रकाशित गर्न अनुरोध गर्नेलगायतका निर्णय गरेको छ’, प्रवक्ता श्रीले भने ।

 

कार्यक्रममा नगरप्रमुख घिमिरेले जनप्रतिनिधि आएसँगै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न अव्यवस्थित बसोबासी तथा सार्वजनिक जग्गाको लगत संकलन गर्नेलगायतका कामलाई प्राथमिकता दिइएको जानकारी दिए ।


‘अब आयोगसँग भएको कार्यसम्झौताअनुसार भूमिहीन दलित, सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गाको मालिक बनाउने काम अघि बढाउँछौँ । इकाइ कार्यालयमार्फत आयोगले बनाएको फारामको ढाँचाअनुसार लगत संकलन गरिनेछ’, नगरप्रमुख घिमिरेले भने ।