close

भक्तपुर नगरका सबै शैक्षिक संस्था १ माघदेखि खुल्ने

भक्तपुर नगरका सबै शैक्षिक संस्था १ माघदेखि खुल्ने

Trulli
ADVERTISEMENT

भक्तपुर- कोरोना भाइरसका कारण बन्द भएका भक्तपुर नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था १ माघदेखि संचालनमा आउने भएका छन् । भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष तथा नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले नगरभित्रका सम्पूर्ण विद्यालयसँगै कलेजसमेत संचालन गर्न अनुमति दिएको हो । 


नगर शिक्षा शाखाका अनुसार हाल नगरभित्र ३६ वटा सामुदायिक विद्यालय र ५६ वटा निजी विद्यालय संचालनमा छन् । ती शैक्षिक संस्थामा मात्र झण्डै ३० हजार विद्यार्थी अध्ययरनत छन् । उच्च शिक्षातर्फ १० हजार विद्यार्थी अध्ययन गर्दै छन् ।


साना नानीका लागि नगरका ६ वटा शिशु स्याहार केन्द्र र निजी क्षेत्रका शिशु स्याहार केन्द्रसमेत संचालनमा आउनेछन् । 


‘विद्यार्थीहरूलाई हामीले स्थानीय संचार माध्यम र अनलाइनको प्रयोग गरी अध्यापन गर्दै आएका थियौँ’, नगर शिक्षा शाखा प्रमुख हरिप्रसाद निरौलाले भने, ‘हामी १ पुसदेखि ८, ९ र १०  कक्षालाई आंशिक रूपमा संचालनमा ल्याएका थियौँ ।’ 


कोरोनाको संक्रमणको अवस्थालाई मध्यनजर गरी बन्द रहेका सबै शैक्षिक संस्था संचालनमा ल्याउने निर्णय गरेको उनले बताए । 


नगरप्रमुख प्रजापतिका अनुसार सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर स्कुल तथा कलेज संचालन गर्न सकिनेछ । उनले भने, ‘कुनै समस्या देखिए फेरि बन्द गर्न सकिनेछ ।’


भक्तपुरका ४ स्थानीय तहमध्ये मध्यपुर थिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाका शैक्षिक संस्था संचालनमा आउन सकेका छैनन् । थिमिमा कोरोना संक्रमणको जोखिमका रहेकाले शैक्षिक संस्था संचालनमा नआएको शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिए । 


चाँगुनारायण नगरपालिकाका निजी तथा सामुदायिक क्षेत्रका विद्यालय सुरक्षा सावधानी अपनाई विस्तारै संचालनमा आइरहेका छन् ।