close

कृषि कर्ममा समर्पितका लोभलाग्दो कथा (भिडियो खबर)

कृषि कर्ममा समर्पितका लोभलाग्दो कथा (भिडियो खबर)

ADVERTISEMENT

ओखलढुंगा- काठमाडौंमा बसेर सामान्य रोजगारी गर्दै आएका ओखलढुंगाको लिखु गाउँपालिका- ६ का सन्तोष भट्टराई अहिले व्यावसायिक कृषक बनेका छन् । लामो समय काठमाडौंमा बसेका उनलाई कोरोना र त्यसपछिकोे लकडाउनले घर फर्किन बाध्य बनायो । यसअघि खेतीको सिजनमा एकाध महिना मात्र घर आउने उनी अहिले चौबीसै घण्टा खेतबारीमा देखिन्छन् । 


गाउँ फर्किएपछि अहिले उनको दैनिकी मात्र फेरिएको छैन, गाउँमै अगुवा कृषकको रूपमा समेत परिचय बनाएका छन् । परम्परागत खेती प्रणालीलाई छाड्दै भट्टराईले विभिन्न प्रजातिका फलफूलका बिरुवा लगाउन सुरु गरेका छन् भने तरकारीबाट उत्पादन लिन थालेका छन् । शहरबाट घर फर्किएको छोरो गाउँमै व्यावसायिक कृषिमा जुटेपछि उनका परिवार पनि उत्साहित छन् ।  


त्यस्तै, लामो समय काठमाडौंमा बसेर अध्ययन पूरा गरेका चम्पादेवी गाउँपालिकाका तेजेन्द्र बिष्टले पनि तरकारी खेतीसँगै कुखुरा पालन व्यवसाय सुरु गरेका छन् । करिब ७० लाख रुपैयाँको लगानीबाट कृषिसँगै कुखुरा पालन व्यवसाय थालेका उनले अहिले लाहर्मी कृषि फर्म दर्ता गरेका छन् भने बिष्टका परिवारका ७ जना कृषि व्यवसायमा आबद्ध छन् ।  


अन्य गाउँमा पनि कोरोनापछि रोजगारी गुमाएका युवा गाउँ फर्किएर व्यावसायिक कृषि पेसामा आवद्ध छन् । युवालाई प्रोत्साहन गर्न चम्पादेवी गाउँपालिका- १० का वडा अध्यक्ष उज्जन बुढाथोकी आफैँ कृषि फर्म दर्ता गरेर बाख्रा पालन व्यवसाय गरिरहेका छन् । 


तर, गाउँ फर्किएर व्यावसायिक कृषिमा लागेका युवाको यकिन तथ्यांक भने कुनै स्थानीय तहसँग पनि छैन । जिल्लाका ८ स्थानीय तहले कृषिमा युवाको आकर्षण बढाउन लागत साझेदारीमा अनुदान दिने नीति भने ल्याएका छन् । त्यस्ता कार्यक्रमले वास्तविक व्यावसायिक किसानलाई समेट्न भने जरुरी देखिन्छ ।