close

एक लाखले पशुपालनमा जमेका दोलखाली युवा (भिडियो खबर) 

एक लाखले पशुपालनमा जमेका दोलखाली युवा (भिडियो खबर) 

ADVERTISEMENT

दोलखा- दोलखाको भीमेश्वर नगरपालिका- ५ मथानीका युवा रामहरी सुवेदीलाई नगरपालिकाले सुरुमा भैँसी पालन गर्न एक लाख रुपैयाँ नगद प्रदान गरेको थियो । सदरमुकाम नजिकैको वस्ती भएकाले सुरुमा उनीहरूले एउटा भैँसीबाट दैनिक ५०० रुपैयाँको दूध बेचेर आम्दानी गर्ने गरेका थिए । 

 

अहिले २ जना युवा मिलेर ७ वटा भैँसी र ७ वटा पाडा पालन गरेका छन् । मथानी कृषि तथा पशुपक्षि फर्म निर्माण गरी रामहरि सुवेदी र अच्युत सुवेदीले करिब ५५ लाख रुपैयाँको लगानीमा व्यावसायिक रूपमा भैँसी पालन सुरु गरेका छन् । अहिले उनीहरू दैनिक ५०-५५ लिटर दूध बिक्री गर्दै आएका छन् । 

 

भैँसी पालन व्यवसायले घाटा नलाग्ने र फाइदा हुने देखेपछि युवा व्यवसायीले थप २० वटा भैँसी पाल्न गोठ बनाएका छन् । भीमेश्वर नगरपालिकाको मथानी गाउँका अधिकांश जग्गा भाडामा लिई भैँसी पालनसँगै तरकारी खेती गर्ने युवाको योजना छ । भैँसी पालनका लागि तराईको धनुषाबाट ल्याएर मजदुरसमेत राखेका छन् । उनीहरू ५ महिनाअघिदेखि मथानी कृषि तथा पशुपन्छी फर्ममा काम गरिरहेका छन् । 

 

यता, भीमेश्वर नगरपालिकाभित्र लकडाउनको अवधिमा धेरै युवाले व्यावसायिक रूपमा गाई पालन, भैँसी पालन, कालिज पालन, कुखुरा पालन, बाख्रा पालन, तरकारी खेती, मसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । नगरपालिकाले पनि सहकारी तथा बैंकबाट सहज रूपमा कम प्रतिशित ब्याज दरमा ऋण दिलाउनसमेत सहजीकरण गरिरहेको छ । 

 

पछिल्लो समय लकडाउनपछि गाउँ फर्किएका युवालाई स्थानीय सरकारले सहयोग गर्दै आएको छ । आर्थिक रूपमा सबल बनाउन र रोजगारी सिर्जना गर्न जनप्रतिनिधि नै अहोरात्र खटिएका छन् । यसरी स्थानीय सरकारको साथ र सहयोग पाउँदा स्थानीय दंग छन् भने थप योजना लागू हुनेमा विश्वस्त पनि हुन थालेका छन् ।