अन्तर्वार्ता 

गाउँमा धारो रे ! छथर आउनू, खोलो बगिरहेको छ 


  • change font
  • change font
  • change font

तेह्रथुमको छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले साढे ३ वर्षको कार्यकालमा गाउँपालिकामा रहेको खानेपानी समस्या, सडक पूर्वाधार र शिक्षा क्षेत्रमा उल्लेख्य सुधार गरेका छन् । गाउँपालिकाका जनप्रतिनिधिदेखि कर्मचारीसम्मले आफ्ना बाबुनानीहरूलाई सामुदायिक विद्यालयमा अनिवार्य अध्ययन गराउनुपर्ने प्रावधान ल्याएपछि छथरका सरकारी विद्यालय शिक्षाले गुणात्मक रुपले फड्को मारेको अध्यक्ष लिम्बु बताउँछन् । छथरमा रहेको खानेपानीको विकराल समस्यालाई सम्बोधन गरेर स्थानीयलाई घरघरमै धारा पुर्‍याउन गरिएको प्रयत्न सफल भएको उनको दाबी छ । गाउँपालिका अध्यक्ष लिम्बूसँग पालिकाखबरका लागि शिव अधिकारीले गरेको कुराकानी  

 

स्थानीय तहमा चुनाव भएको पनि करिब साढे ३ वर्ष कटिसकेको छ । ६ महिनाअघि चुनाव गर्नुपर्ने बाध्यताका कारण तपाईंहरूको समयसीमा पनि छोट्टिँदै छ । अब काम गर्ने समय घर्किएको भन्ने हतारोमा हुनुहुन्छ, हो ? 

 

जनताका बीचमा हामीले जे प्रतिबद्धता व्यक्त गरेका थियौँ, सोहीअनुसार काम भइरहेका छन् । चुनावका बेला भोट माग्दा पाँच वर्षभित्र यी-यी काम सम्पन्न गछौँ भनेर जुन योजना बुनेका थियौँ, निर्वाचित भएदेखि नै जनतासँग गरिएको वाचा पूरा गरिरहेका छौँ । कार्यकालको अन्तिममा आइसकेपछि स्वाभाविक रूपमा ती प्रतिबद्घता कति सफल भए र कति भएनन् भन्ने हिसाबमा चिन्तित छौँ । यसै कारण स्थानीय तहका जनप्रतिनिधिहरूमा अलि हतारो देखिएको हो । 

 

तपाईंलाई भरसक यहीँ गर्नुपथ्र्यो, यो पूरा हुन सकेन भनेर अन्तरकुन्तर मनले भन्दैन ? 


कोभिड-१९ ले असर नगरिदिएको भए यतिखेर हाम्रो कार्यकालमा गरे र थालेका काम पूर्ण रूपले सम्पन्न गर्‍यौँ भन्ने चरणमा पुगिसक्थ्यौँ । हाम्रो एउटा आर्थिक वर्ष कोभिड-१९ ले खाइदियो । आर्थिक अवस्थामा अस्तव्यस्त समाज बनाइदियो । एउटा गतिमा बढिरहेको विकासको प्रक्रियालाई अवरोध सिर्जना गरिदियो । त्यही कामको निरन्तरता अर्को आर्थिक वर्षमा गर्नुपर्ने परिस्थिति आइलाग्यो ।

 

तपाईंको पालिकाका केही वडाहरूमा खानेपानीको हाहाकार थियो । अहिले कसरी व्यवस्थापन गर्नुभयो ?

 

खानेपानीका सन्दर्भमा तपाईंले उठाएको विषय एकदम सही हो । अहिले मलाई नागरिकको उबेला दैनिकीलाई सम्झिँदा आङ सिरिंग हुन्छ । पालिकाको वडा नम्बर ३, ४ र ५ तमोरले छोएको भूगोलमा पर्छ । त्यहाँका नागरिक बिहानै उठेर तमोर झरेर डोकोमा एक गाग्री पानी ल्याउनुपर्ने अवस्था थियो । पानी लिएर आउँदा बिहानभरिको समय सकिन्थ्यो ।

 

त्यही एक गाग्रो पानीको भरमा दिउँसभरिको दैनिकी र बस्तुभाउ पाल्नुपर्ने बाध्यता थियो । सामाजिक गतिविधि विवाह, व्रतबन्ध, भोजभतेर गर्नुपर्‍यो भने आएका पाहुनाले खाना खाएपछि स्याउलाले चौरमा गएर हात पुछेर बिदाइ गर्नुपर्ने बाध्यता थियो । अहिले सबै हटेको छ । खानेपानीको व्यवस्था गरिसकेका छौँ । 

 

खानेपानी अभावकै कारण कतिपय गाउँले ठाउँगाउँ छाडेर अन्यत्र बसाइँ सर्नुपर्ने परिस्थिति थियो । तर, अहिले हामीले त्यो समस्या हटायौँ । आज टोल-बस्तीमा कम्तीमा पानी वितरण प्रक्रिया अगाडि बढिसकेको छ । अवरोध आएका २ वटा वडा र अरू कारणले एउटा वडाबाहेक यो आर्थिक वर्षमा हामीले खानेपानीको व्यवस्थापन गर्दै छौँ । अहिले खानेपानीको व्यवस्था गरेपछि कोठेबारीमा साग फलाउने अवस्था छ । 

 

खानेपानी घरमै आएपछि जनताको प्रतिक्रिया कस्तो पाउनुभयो ?


जनता एकदम खुसी छन् । खानेपानी व्यवस्थापनलाई थप सहज बनाइदिनुपर्‍यो भन्छन् । हामी व्यवस्थापनमा लागिरहेका छौँ । 


भौतिक पूर्वाधारमध्ये सडक पनि पर्छ । तपाईंले गाउँपालिकामा सडक विस्तारका लागि के-के गर्नुभयो ? 


निर्वाचित भएको पहिलो वर्षमै पहिलो बुँदामा मतदातालाई धन्यवाद र दोस्रो बुँदामा पालिकाअन्तर्गतका क्षतिग्रस्त, जीर्णावस्थाका सडक मर्मत-सम्भार र निर्माणलाई जोडेका थियौँ । पालिकाको मुख्य बाटो भनेकै शुक्रबारे सडक हो । ९ किलोमिटरको बाटोको निर्माण भइरहे पनि बीचमै अलपत्र थियो । हामी निर्वाचित हुनेबित्तिकै कार्यपालिकाबाटै निर्णय गराएर मेरै नेतृत्वमा तुरुन्तै सम्बन्धित ठेकेदार कम्पनीको ध्यानाकर्षण गरायौँ ।

 

 त्यसपछि तीन महिनामै सोलिङ गर्ने काम गाउँपालिकाले नै पूरा गर्‍यो । यसमा करिब ३ करोड रुपैयाँ लागेको छ । गाउँपालिकाभरिका सडकलाई कमसेकम कालोपत्रेको तहमा पुर्‍याउँछौँ भनेका छौँ । हामीले सोलिङबाट मात्रै गर्‍यौँ । कालोपत्रे गर्न स्रोत थिएन ।

 

त्यसका लागि संघीय र प्रदेश सरकारलाई योजना पेस गर्‍यौँ । संघीय र प्रदेश सरकारको साझेदारीमा अहिले त्यहाँ करिब ६५/७० करोड रुपैयाँको लगानीमा कालोपत्रेको कामका लागि टेन्डर भएको छ । 

 

तपाईं निर्वाचित भएर आएपछि गाउँपालिकाले शिक्षा क्षेत्र विशेषगरी सामुदायिक विद्यालय सुधारका लागि के-कस्तो प्रयास गर्‍यो ?

 

राष्ट्रिय शिक्षा नीतिमा नीतिगत सुधार जरुरी छ । यो कुरा मैले बारम्बार शैक्षिक क्षेत्रका मञ्चहरूमा पनि भन्ने गरेको छु । एउटै मुलुकमा अनेक खाले शैक्षिक प्रणाली ठीक भएन, हाम्रो भूगोल सुहाउँदो स्थिति छैन र शिक्षामा व्यापार गर्ने प्रक्रिया ठीक भएन ।


 मैले निजी विद्यालयको विरोध गरेको होइन । हामीले कार्यपालिकाको बैठक, गाउँसभाबाटै निर्णय गरेर जनप्रतिनिधि, कर्मचारी, शिक्षक सबैले आफ्ना बाबुनानीहरूलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने प्रावधान बसालेका छौँ । त्यसो नभए सेवा-सुविधा रोक्का गराउने निर्णय भइसकेको छ । निर्णय कार्यान्वयनका चरणमा विरोध, डेलिगेसनलगायतका काम भए । तर, हामीले त्यसलाई चिरेर नियम कार्यान्वयन गरिछाड्यौँ । 


मेरै बच्चालाई सदरमुकामको बोर्डिङबाट निकालेर आफ्नै घर छेउको सामुदायिक विद्यालयमा भर्ना गराएँ । यसलाई गाउँपालिकाको संयन्त्रमा रहेका सबैले फलो गरे । अहिले पनि सामुदायिक विद्यालयप्रति अविश्वास छ । राज्यको स्रोत खाने, सरकारी मान्छेको बिल्ला लगाउने तर आफूले पढाइ रहेको विद्यालयलाई अविश्वास गर्नु उचित होइन । 

 

यसले सामुदायिक विद्यालयको भर्ना दरमा कस्तो प्रभाव पारेको छ ?

 

हामीले निर्णय गरेपछि पछिल्लो समय कतिपय सामुदायिक विद्यालयमा दोब्बर र कतिपयमा २० देखि ३० प्रतिशतसम्म विद्यार्थी भर्ना दर बढेको छ । यसलाई अझै बढाउने योजना गाउँपालिकाको छ । 

 

सामुदायिक विद्यालयमा भर्ना दर बढाएर मात्र हुँदैन । यसमा गुणस्तरीय शिक्षा पनि पर्छ । एउटा विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा दसौँ लाख खर्चेर अध्यक्ष हुने र त्यहाँ राजनीति घुसाउने काम पनि हुँदै आएको छ ।

 

यसलाई कसरी सम्बोधन गर्नुभएको छ ? 

 

सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर बढाउनु ठूलो कुरा नभए पनि यसको व्यवस्थापनको पक्ष मुख्य हो । सामुदयिक विद्यालयले विश्वास गुमाइसकेको अवस्था थियो । तर, अहिले क्रमशः सामुदायिक विद्यालयप्रति अभिभावकको ध्यान पुगेको छ । दैनिक पठनपाठन र गुणस्तरीय शिक्षा नै हो मुख्य विषय हो । 


हामीले गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा निरीक्षण बढाएर शिक्षकहरूको दैनिकी उपस्थिति नियमित बनाउन सफल भएका छौँ । समुदायबाट पनि चासो बढेको छ । यदि गुणस्तरीय शिक्षा दिन सक्दैनन् भने त्यस्ता विद्यालयलाई मर्ज गरेर जानुपर्छ भन्ने निर्णय गर्‍यौँ ।

 

कतिपय मर्ज पनि भइसकेका छन् । तर, विद्यालय मर्ज गरिसकेपछि कतिपय अभिभावको चित्त दुखाइ छ । आफैंले हिजो डोकोमा ढुंगा बोकेर बनाएको स्कुल मर्ज हुँदा अभिभावकलाई माया हुँदो रहेछ । यसर्थ, अभिभावकहरू भेला भएरै आफ्नोे विद्यालयको पढाइ सुधार्न लागिपरेको देखेँ । उदाहरणका लागि, मेरै गाउँको शनिश्चरे मावि पर्याप्त छ ।

 

विगतमा पाँचौँ पटक अनुगमन गर्दासमेत विद्यालय समयमा ताल्चा लगाएको देखिन्थ्यो । तर, आज त्यहाँ सयौँ विद्यार्थीले अध्ययन गरिरहेका छन् । गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाले अनुगमन, क्यालेन्डर निर्माण, नियमित बैठक बस्ने र त्यसले निर्णयका आधारमा शिक्षा क्षेत्र सुधार्ने काम हुँदै आएका छन् । 

 

कुनै बेला छथर गाउँपालिकाबासी सामान्य उपचार गराउन धरान पुग्नुपथ्र्याे । अहिले पालिकामा एमबीबीएस डाक्टरको व्यवस्था रहेछ । सेवा प्रवाह कस्तो छ ?


गाउँपालिकामा डाक्टरसहितको स्वास्थ्य सेवा उपलब्ध गराउने विषय मैले चुनावताकै जनतासमक्ष गरेको प्रतिबद्धता हो । गाउँपालिकामा एउटा अस्पताल स्थापना जरुरी छ भनेरै समाजसेवी, बुद्घिजीवीले यसमा साथ दिए । स्थानीय तह निर्माणसँगै निर्वाचित भएपछि यो कामको अगुवाइ म आफैंले गरेँ ।

 

स्थानीय सरकार सञ्चालन ऐनमै पालिकाभित्र १५ शय्यासम्मको अस्पताल स्थापना गर्न पाइने प्रावधान छ । हामीले स्वास्थ्य ऐन निर्माण र निर्देशिका तयार गरेर अस्पताल स्थापनाका लागि निर्णय गर्‍यौँ । सबैको प्रयासस्वरूप छथर अस्पताल स्थापना गर्न सफल भयौँ । यो अस्पतालले अहिले एमबीबीएस डाक्टरसहित गाउँबासीलाई स्वास्थ्य सेवा दिइरहेको छ ।

 

हिजो भिडियो एक्सरे गर्न धरान पुग्नुपर्ने नागरिकको बाध्यता अस्पताल स्थापनापछि हटेको छ । अब अरू एक्सरे मेसिन जडान गर्दै छौँ । नागरिकले आधारभूत स्वास्थ्य सेवा गाउँमै प्राप्त गर्न सकून् भन्ने हिसाबले काम गरिरहेका छौँ । दीर्घ रोगीको स्वास्थ्य बिमा सबै गाउँपालिकाले नै गरिदिन थालेको छ ।

 

छथर पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण पालिका हो । ऐतिहासिक, सांस्कृतिकलगायतका पर्यटकीय स्थलको संरक्षण र प्रवद्र्धनमा गाउँपालिकाले के गरिरहेको छ ? 


तेह्रथुमकै महत्त्वपूण पर्यटकीय स्थल हो, छथर । जिल्लाको पहिलो पर्यटन गुरुयोजना बनाउँदा नै प्राविधिक रूपमा केही काम भएका थिए । तत्कालीन अवस्थामा यो काम जिविसले गरेको थियो । पर्यटन गन्तव्य ह्यात्रुङ झरना, जसलाई दक्षिण एसियाको लामो मानिन्छ । यो पनि तेह्रथुममै पर्छ । लालीगुराँसको राजधानीको जिल्लाका नामले पनि तेह्रथुमले प्रसिद्धि पाएकै छ ।

 

यहाँको ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक, सामाजिक पक्षसँग जोडिएको इतिहासको खानी छथर गाउँपालिकाभित्रै पर्छ । यहाँ प्रशस्त ओडार छन् । यसलाई पर्यटनमार्फत चिनाउन सकिए आम्दानीको स्रोत बनाउन सकिन्छ । गाउँपालिकाले पालिकाभित्रका पर्यटन स्थलको सम्वर्द्धन, प्रवर्द्धन र व्यवस्थापनको काम नियमित रूपमा अगाडि बढाइरहेको छ ।

 

मार्ग पोखरीको संरक्षण गरिँदै छ । च्याङलुङ गुफा पनि यहीँ पर्छ । विगतमा साँघुरो रहेको गुफालाई हामीले अहिले १ सय ८५ फराकिलो बनाएपछि अवलोकन गर्न सहज भएको छ । पालिकामा टावर निर्माण गर्दै छौँ, जसबाट मनोरम दृश्यहरू अवलोकन गर्न सकियोस् ।

 

तपाईंले पूर्वाधार, शिक्षा, स्वास्थ्य क्षेत्रको  कुरा गरिरहँदा नागरिकको मुख्य पेसा कृषि नै हो । कृषकको उत्पादन बढाउन गाउँपालिकाले सुरु गरेका कार्यक्रममध्ये कुनचाहिँ सम्झिनलायक छ ? 

 

कृषिलाई पर्यटनबाट कसरी जोड्न सकिन्छ भनेर गाउँपालिकाले काम गरिरहेको छ । कोभिड-१९ ले पनि कृषि क्षेत्रमा असाध्य असर पुर्‍यायो । हामीले कृषि उत्पादन बढाउन र किसानलाई सहुलियत दिन ब्लक निर्माण गरेका छौं । विगतमा तरकारीको पकेट क्षेत्र मात्र थियो, हामीले त्यसलाई ब्लकका रूपमा विकास गर्‍यौँ ।

 

अहिले सयौँ टन तरकारी गाउँपालिकाबाट निर्यात हुन थालेको छ । धरानको कृषि बजार र भारतका धेरै धेरै बजारमा छथरकै तरकारी पुग्न थालेको छ । छथर दूधको पकेट क्षेत्र पनि हो । गाउँपालिकबाट दैनिक ३ हजार लिटर दूध बाहिर निर्यात गर्छौं । मकैको पनि ब्लक बनाएका छौँ । गाउँपालिकाबाट वार्षिक रूपमा मकैको बिउ अन्य जिल्लामा पुग्ने गरेको छ ।

 

संघीय र प्रदेश सरकारले कृषिको व्यावसायिकीकरण, कृषिको आधुनिकीकरण, कृषिमा आकर्षित गर्ने कार्यक्रम अगाडि बढाइरहेको छ । संघबाट कृषि आधुनिकीकरण परियोजना सञ्चालन, जोन, सुपरजोन, ब्लक, पकेट बनाइरहेको छ भने हामी टोल निर्माण, क्षेत्र निर्माणमा लागिरहेका छौँ । १ सय २७ वटा टोल विकास समिति गठन भइसकेका छन् ।

 

यिनमा एक-एक उत्पादन छनोट गर्दै छौँ । यो आर्थिक वर्षमा हामीले ४० लाख रुपैयाँ गठन र परिचालनका लागि बजेट विनियोजन गरेका छौँ । हामी एक टोल एक उत्पादन, एक टोल एक विकास निर्माणको लक्ष्यसहित अगाडि बढेका छौँ । 

 

तपाईंहरूलाई विकास निर्माणमा अप्ठेराहरू त छन् होला । आम जनताले परिणाम हेर्ने हो । जनतामाझ गरेका प्रतिबद्घता कत्तिको पूरा गरेजस्तो लाग्छ ? 


मैले निर्वाचनमा जाँदाखेरि नै जनतालाई यो-यो कुरा गर्छु भनेर विजयी भएको हुँ । हामीलाई भोट दिए तपाईंहरूका प्रतिबद्घता पूरा हुन्छन् भन्ने वाचाकसम पनि गरेकै हो । घोषणापत्रअनुसार काम गरियो, केही हुँदै छन् ।

 

मैले जनतासमक्ष जे प्रतिबद्धता व्यक्त गरेको थिए, त्यही प्रतिबद्धता कार्यान्वयनका लागि हतार छ । स्वाभाविक रूपमा प्रतिबद्घता पूरा हुँदैनन् कि भन्ने चिन्ता पनि छ । अब छथरबासीले अलपत्र अवस्थामा पालभित्र आँगनमा चिसो सिरेटो ताप्नुपर्ने छैन । मेरो कार्यकाल सकिँदासम्म गाउँबासीलाई घरमै सारेर, चुल्हो बालिदिएर छाड्ने अठोट छ ।