close

आशा जगाउँदै काठेखोलाका काला सडक (भिडियो खबर)

आशा जगाउँदै काठेखोलाका काला सडक (भिडियो खबर)

ADVERTISEMENT

बाग्लुङ- बाग्लुङको काठेखोला गाउँपालिकामा पहिलो पटक चालू आर्थिक वर्षमा पालिका मुकाम वडा नं.- ६ को बिहुँसुल्डाँडा एक्लेफाँटदेखि वडा नं.-७ रेश वडा कार्यालयसम्मको सडक कालोपत्रेको काम सुरु भएको छ । 


गत आर्थिक वर्षमा कालोपत्रेको योजनामा रहेको सडक निर्माणको कोरोना महामारीका कारण बजेट फिर्ता भएपछि काम हुन सकेको थिएन । 


अहिले झण्डै ६०० मिटर सडक कालोपत्रे भइसकेको छ । चालू आर्थिक वर्षमा संघीय सरकार र काठेखोला गाउँपालिकाको साझेदारीमा ४ किलोमिटर सडक कालोपत्रे गर्न थालिएको हो । बहुवर्षीय योजनाअन्तर्गत गाउँपालिकामा पहिलो पटक सडक कालोपत्रे थालिएको काठेखोला गाउँपालिकाले जनाएको छ । 


६ करोड ७१ लाख रुपैयाँमा सडक कालोपत्रेको जिम्मा आचार्य जेभीले पाएको छ । अहिले कालोपत्रेका लागि आवश्यक सडक कटिङ, फिलिङ, ग्याविन, पर्खाल तथा नाली निर्माणको काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ । सडकको धेरै लामो खण्डभन्दा पनि बलियो र टिकाउ हुने कालोपत्रे गर्ने योजना गाउँपालिकाको छ । चालू योजनाले गाउँपालिका केन्द्रदेखि वडा कार्यालय नपुगे पनि आगामी वर्षको बजेटले अधुरो योजना पूरा हुने गाउँपालिकाको दाबी छ ।


रकम अभाव नभए आउँदो जेठ मसान्तसम्म कालोपत्रेको काम सम्पन्न गर्ने निर्माण व्यवसायीको भनाइ छ । यद्यपि, २०७९ को जेठसम्मको समायवधि छ । काठेखोलाले निर्वाचनको ५ वर्षभित्र बिहुँसुल्डाँडादेखि प्रत्येक वडाको कार्यालयसम्म पुग्ने सडक कालोपत्रे गर्ने लक्ष्य लिएको छ । 


प्रत्येक वडाको कार्यालयसम्मको सडक कालोपत्रे गर्ने योजनाअनुसार डीपीआर बनाउने काम सम्पन्न भएको छ । सडक कालोपत्रे हुँदा स्थानीय उत्साहित छन् । कालोपत्रे सडकले आउजाउ र उत्पादन तथा बजारीकरणमा सहज हुने स्थानीय बताउँछन् ।


सडक कालोपत्रेलाई गाउँपालिकाले गौरवको सडकका रूपमा लिएको छ । ४ किलोमिटर, नाली, कल्भर्ट, पर्खाललगायतका संरचना निर्माण भइरहेको छ । रेश जाने सडक झण्डै साढे ४ किलोमिटर कालोपत्रे हुने र खोलामा पक्की पुल जस्ता विकास निर्माण हुँदा स्थानीयवासीमा छाएको खुसीले गाउँपालिका पनि दंग छ ।