close

व्यवसायमा जमेका सुर्नयाका आत्मनिर्भर महिला (भिडियो खबर)

व्यवसायमा जमेका सुर्नयाका आत्मनिर्भर महिला (भिडियो खबर)

ADVERTISEMENT

बैतडी- बैतडीको सुर्नया गाउँपालिकाले हरेक वर्ष महिला लक्षित कार्यक्रमबाट विभिन्न व्यवसायमूलक काम गर्दै आएको छ । प्रत्येक वर्ष महिलाका लागि १६ लाख रुपैयाँ विनियोजन गर्दै आएको सुर्नया गाउँपालिकामा महिलाहरूलाई सीपमूलक तालिम प्रदान गर्ने, व्यवसाय संचालन गर्न विभिन्न सामग्री वितरण गर्ने तथा गर्भवती र सुत्केरी महिलालाई पौष्टिक तत्त्वयुक्त सामग्री वितरण गर्नेलगायतका कार्यक्रम गाउँपालिकाले गर्दै आएको छ । 


रकम कमै छुट्याए पनि सही ढंगले रकमको सदुपयोग भने भइरहेको छ । व्यवसाय संचालन गर्न महिलालाई समूहमा आबद्ध गराई गाउँपालिकाका तर्फबाट सहयोग गरिँदै आएको छ । सहयोग पाएका धेरैजसो महिलाले उद्योग तथा व्यवसायसमेत संचालन गरेका छन् ।


सुर्नया गाउँपािलकाका धेरैजसो महिला अहिले आत्मनिर्भर बन्न थालेका छन् । गाउँपालिकाका तर्फबाट उनीहरूका लागि सिलाइकटाइसम्बन्धी तालिम, ब्युटीपार्लरसम्बन्धी तालिम, हाते होजियारीसम्बन्धी तालिम, बाख्रा पालन, तरकारी तथा फलफूल खेतीसम्बन्धी तालिम दिइनुका साथै व्यवसाय संचालन गर्न आवश्यक सामग्री, बिउ-बीजन, कृषि औजारलगायतमा अनुदान दिइँदै आएको छ । गाउँपालिकाको सहयोगका कारण महिला आत्मनिर्भर हुन थालेका छन् । 


म्हिलाहरू व्यवसायमा आबद्ध भएमा उनीहरू आयआर्जनसमेत गर्न सक्छन् । यसरी सुर्नया गाउँपालिकाले विभिन्न समयमा महिलालाई आत्मनिर्भर बनाउन खोजेको बताउँदै आएको छ । 


बैतडीको सुर्नया गाउँपालिकामा विभिन्न व्यवसायमूलक तालिम पाएका महिलामध्ये अहिले दर्जनौँ महिलाहरू आफ्नै व्यवसायमा आबद्ध छन् । उनीहरूको दैनिकीमा सुधार आएको छ भने विगतमा महिला हिंसा सहेका महिलासमेत आफ्नै व्यवसाय गरेर बसेका पाइन्छ । गाउँपालिकाका तर्फबाट गरिएको यो प्रयासलाई सराहनीय कामका रूपमा लिइएको छ ।