close

प्राविधिक उत्पादनमा जुट्यो मुसिकोट

प्राविधिक उत्पादनमा जुट्यो मुसिकोट

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको मुसिकोट नगरपालिकाले गाउँमै प्राविधिक उत्पादन गर्ने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले खानेपानी आयोजनालाई दिगो रूपमा सञ्चालन गर्न ग्रामीण मर्मत सम्भार कार्यकर्तालाई प्लम्बिङ तालिम उपलब्ध गराउन थालेको हो ।

 

यो वर्ष सम्पन्न हुने नगरपालिकाका १४ वटा खानेपानी योजनाका २० जना कार्यकर्तालाई मर्मत सम्भारबारे प्रशिक्षण दिइएको नगरपालिकाको खानेपानी तथा सरसफाइ शाखा संयोजक सीता भुसालले जानकारी दिइन् । 

 

सहभागीलाई लिखित र योजना स्थलमै पुर्‍याएर प्रयोगात्मक दुवै विधिबाट तालिम प्रदान गरिएको छ । ‘१० दिनसम्म सञ्चालन हुने तालिममा खानेपानीको इन–ट्यांकदेखि उपभोक्ताका घरसम्मै आवश्यक पर्ने मर्मत सम्भारबारे ग्रामीण कार्यकर्तालाई जानकारी दिइनेछ’, भुसालले भनिन् । 


गुल्मीका सबै स्थानीय तहले एक घर एक धारा अभियान अगाडि बढाएका छन् । त्यसैले अधिकांश स्थानीय तहका जनप्रतिनिधिले ५ वर्षभित्र सबैका घरमा खानेपानीको पहुँच पुर्‍याउन लागिरहेका छन् ।

 

अहिले गाउँ-गाउँमा नागरिकका खानेपानीको माग पूरा गर्ने विकल्प लिफ्ट प्रविधि बनिरहेको छ भने ग्राभेटीमार्फत पनि खानेपानीको पहँुच वृद्धि गरिएको छ । प्रविधिको विकाससँगै आउने प्राविधिक समस्या समाधानका लागि गाउँमा दक्ष जनशक्ति अभाव छ । 

 

सामान्य समस्या आउँदा पनि योजना अलपत्र बन्ने अवस्था अन्त्य गर्न प्राविधिक विषयमा जोड दिएको मुसिकोट वडा नम्बर ९ का प्रशिक्षार्थी दण्डपाणि सापकोटाले बताए । ‘पहिले फुटेको ठाउँमा बाँसका ढुंग्रा हालेर, ठूलो पाइपमा सानो पाइप जोडेर काम गर्ने गरिए पनि अब प्राविधिक पक्ष नै सिक्न पायौँ’, सापकोटाले भने ।

 
मुसिकोटका अधिकांश वडामा खानेपानीको संकट भएकाले नगरपालिकाले यसलाई प्राथमिकता दिएको छ । स्थानीय तहपछि नगरपालिकामा अहिलेसम्म ३२ वटा खानेपानी योजना पूरा भएका छन् । 

 

करिब १२ करोड रुपैयाँ लगानीमा ३५ सय घरधुरीमा एक घर एक धारा जडान गरिएको नगरप्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । ‘यो वर्ष पनि १४ वटा योजना निर्माण भइरहेकाले थप १ हजार एक घर एक धारा पुग्नेछन्’, सापकोटाले भने ।


मुसिकोटले प्रत्येक वर्ष सञ्चालन हुने खानेपानी योजनामा ग्रामीण कार्यकर्तालाई प्लम्बिङ तालिम दिँदै आएको छ । 


यो वर्ष पनि धेरै खानेपानी योजना भएकाले पनि सोहीअनुसार मर्मत सम्भार गर्नुपर्ने चुनौती नगर र उपभोक्ता समितिलाई छ । खानेपानी योजना निर्माणका लागि बाहिरबाट प्राविधिक खोज्नुपर्ने र योजना सम्पन्न भएपछि पनि मर्मत सम्भारको समस्या रहेकाले गाउँमै प्राविधिक उत्पादन गर्न तालिम दिन लागिएको सापकोटाले बताए ।

 

नगरका ७ हजार ७८ घर धुरीमै खानेपानी पहुँच पुर्‍याउन नगरपालिकाले काम गरिरहेको छ ।