close

बल्ल बन्न थाले पहिरोपीडितका घर

बल्ल बन्न थाले पहिरोपीडितका घर

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिमाबासीका लागि आवास पुनर्निर्माण सुरु भएको छ । ६ महिनाअघिको पहिरोका कारण घर भत्किएका र अन्यत्र जग्गा नभएकाको स्थायी बसोबासका लागि घर निर्माण सुरु गरिएको हो ।

 

बिम मालिका संघले २० लाख रुपैयाँमा खरिद गरेको ५ रोपनी जग्गामा आवास निर्माणका लागि जग्गा सम्याउने काम सुरु गरेको वडाध्यक्ष रेशम जुग्जालीले जानकारी दिए ।

 

गत २५ र २६ असारमा पहिरोका कारण बिमको तल्लोगाउँ, नौरुङ, दुले र बाइन्दफाँटमा ३३ वटा घर भत्किएका थिए । पहिरोमा परी ८ जनाको मृत्यु र १ जना बेपत्ता भएका थिए । घरबास गुमाएकामध्ये १ जनाको काठमाडौंमा घर छ भने २० जनाको अन्यत्र जग्गा छ ।

 

तर, घर र जग्गा सबै पहिरोमा गुमाएका १२ परिवारका लागि घर निर्माण गर्न वडाका जनप्रतिनिधि र अगुवाले पहिचान गरेको जग्गा संघले खरिद गरेको थियो ।

 

बिमको तल्लोगाउँस्थित हिराजित स्मृति युवा क्लबको खेलमैदान नजिकै तल्लोबोटमा खरिद गरिएको जग्गामा म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले १० वटा घर निर्माण गर्न लागेको हो ।

 

‘बिमका पहिरोपीडितका लागि बिम मालिका संघले जग्गा खरिद र मोनाले घर निर्माण गर्ने समझदारीअनुसार गाउँपालिकाले जग्गा सम्याउने र पानी, बिजुली पु¥याउने काम सुरु गरेको छ’, वडाध्यक्ष जुग्जालीले भने, ‘आगामी वैशाखभित्र घर बनाएर पहिरोपीडितलाई सुरक्षित आवास उपलब्ध गराउँछौँ ।’

 

आवास निर्माणका लागि बिमका सबै घरधुरीले १ दिनका दरले श्रमदान गर्ने निर्णय गरेका छन् । स्वदेश तथा विदेशमा रहेका बिमबासीले जग्गा खरिदका लागि आर्थिक स्रोत जुटाएका हुन् ।

 

उनीहरूको पुनर्बासका लागि समुदाय स्तरबाट स्वदेश तथा विदेशमा आर्थिक सहयोगसमेत संकलन भएको छ । घरबास गुमाएकालाई विदेश र सहरमा भएकाको खाली घर तथा आफन्तकहाँ राखिएको छ । ५ लाख रुपैयाँमा ३ कोठे भवन र एउटा शौचालय निर्माण गर्ने डिजाइन तयार भएको छ । उटा भान्सा र दुइटा बेडरुम बनाइनेछ ।

 

धवलागिरि गाउँपालिका वडा नम्बर ६ मराङका पहिरोपीडितका लागि पनि जग्गा खरिद अन्तिम चरणमा पुगेको वडाध्यक्ष राजाराम सुवेदीले बताए । अस्कारे र राम्चेमा जग्गा खरिद गर्न लागिएको उनले जानकारी दिए ।