close

मेयरसा’ब ! स्मार्ट सिटी र पक्की पुल खै, गुटका बैठक कहिले सकिन्छ ?

मेयरसा’ब ! स्मार्ट सिटी र पक्की पुल खै, गुटका बैठक कहिले सकिन्छ ?

Trulli
ADVERTISEMENT

दाङ– दाङको तुलसीपुर उपमहानगरले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । उपमहानगरले गरेका कामको प्रगति र समीक्षाका लागि सार्वजनिक सुनुवाइ गरिएको हो ।


सार्वजनिक सुनुवाइमा सहभागी नगरबासीले सेवा प्रवाहदेखि विकास निर्माणसम्मै गडबडी भएको गुनासो गरे । स्मार्ट सिटीको अवधारणा अघि सारिए पनि काम हुन नसकेको, पक्की गरिएका सडक गुणस्तरहीन भएको, कोरोना महामारीमा गरिएको खर्च पारदर्शी हुन नसकेकोलगायत गुनासा नगरबासीले नगरप्रतिनिधिसँग राखे ।


उपमहानगरगरमा अहिले पनि मुख्य बजार अन्धकारमै रहेको स्थानइ दीपक काफ्लेले बताए । ‘तुलसीपुरको मुख्य बजार नै उज्यालो हुन सकिरहेको छैन । नगरलाई स्मार्ट सहरको रूपमा विकास गर्ने चर्चा चले पनि मुख्य सडक अहिले पनि अन्धकारयुक्त छ’, उनले भने, ‘बजारमा फोहोर व्यवस्थापनमा उत्तिकै चुनौती छ ।’


कार्यक्रममा ज्येष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष खुमानन्द अधिकारीले आफूहरूका लागि लक्षित कार्यक्रम व्यावहारिक रूपमा कार्यान्वयन आउन नसकेको गुनासो गरे । ‘ज्येष्ठ नागरिकका लागि बनेका नीति कार्यान्वयन हुन सकेनन्’, उनले भने, ‘सार्वजनिक बसमा अहिले पनि ज्येष्ठ नागरिकले छुट पाउँदैनन् । दिवा सेवा केन्द्र स्थापनाले पूर्णता पाउन सकेन ।’


उपमहानगरको महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र विस्तार र ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा भाडा छुटका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् ।


‘अहिले कोरोना महामारीका कारण यातायात व्यवसायीसँग छलफल गर्न पाएका छैनौँ’, उनले भनिन्, ज्येष्ठ नागरिकका गुनासालाई सम्बोधन गर्न यातायात व्यवसायीसँग बसेर छलफल गर्छौं ।’


वडा नम्बर ८ का तारा न्यौपानेले उपमहानगरमा अहिले पनि सेवा सहज रूपमा पाउन सक्ने स्थिति नरहेको दाबी गरे । ‘सेवाग्राहीले अहिले पनि सहज सेवा पाउन सकिरहेका छैनन्’, उनले भने, ‘उपमहानगरले पेपरलेस भने पनि ताल उही पुरानै छ ।’


वडा नम्बर ६ का टोपबहादुर महताराले नेकपामा आएको विवाद कर्मचारीमा पनि सरेको बताए । ‘माथिको असर अहिले तल्लो तहमा देखिँदा हामीले उपमहानगरले दिने सेवा सहज रूपमा पाउन सकिरहेका छैनौँ,’ उनले भने, ‘कार्यालय आउँदा कर्मचारी कहिले को गुटमा, कहिले को गुटमा मिटिङमा छु भन्छन्, हामीले सास्ती मात्रै पाएका छौँ ।’


उपमहानगरले सडक कालोपत्रेलाई निरन्तरता दिए पनि नालाबिनाको बनाउँदा त्यसमा खर्चिएको रकम खेर गएको स्थानीय का नारायणप्रसाद भण्डारीले बताए । उनले भने, ‘बिनानालाको सडक कालोपत्रेको अर्थ छैन । बजेट खेर जाने मात्र हो ।’

 
कार्यक्रममा उपमहानगर प्रमुख घनश्याम पाण्डेले नगरपालिकालाई स्मार्ट नगरका रूपमा विकास गर्न लागिपरेको दाबी गरे । ‘हामीले उपमहानगरलाई पेपरलेस बनाउन अनलाइन प्रणाली विकास गरिरहेका छौँ । घर नक्सापासको काम अनलाइनमार्फत गइसकेको छ,’ पाण्डेले भने ।


उपमहानगरका सूचना अधिकारी बाबुराम न्यौपानेले प्रगति विवरण सार्वजनिक गरे । नगरका सबै वडामा सडकको पहुँच पुगेको, नगरले करिब ८० किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिए ।