close

राडीपाखी इलम सिक्दै जुम्लाका दुर्गमबासी

राडीपाखी इलम सिक्दै जुम्लाका दुर्गमबासी

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाका दुर्गम क्षेत्रका स्थानीयले राडीपाखी इलमबाट आम्दानी लिन थालेका छन् । पछिल्लो समय लोप हुँदै गएको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊन बुनेर आयआर्जन गर्न उनीहरू हौसिएका हुन् ।


जुम्लाका अधिकांश गाउँमा भेडा-बाख्रापालन हुने गरेको छ । खरायो पालन पनि भइरहेका छन् । ऊन खेर गइरहेको थियो । सीप नहुँदा परम्परागत राडीपाखीबाहेक अन्य वस्तु उत्पादन हुन सकेको छैन ।


अनुकूलन कोषको आर्थिक सहयोगमा संघीय सरकारको वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पेस नेपाल जुम्लाद्वारा सञ्चालित क्याप्स कर्णालीले एक महिने राडीपाखी बुनाइ तथा सीप सुधार तालिम दिइएपछि दुर्गमका बासिन्दाले ऊनका विविध सामग्री तयार गरी बजारमा बिक्री गर्न थालेका छन् ।


उनीहरूले गलबन्दी, गलैँचा, राडीपाखी, कोटे कपडा सबै बुन्न सिकेका छन् । ‘यो अवधिमा भेडाको ऊनबाट राडीपाखीलगायत सामग्री बुन्न दक्ष भयौँ’, तिला वडा नम्बर ६ का वीरबहादुर रावतले भने, ‘हामीले पहिले नै सीप सिकेका थियौँ तर अहिले आधुनिक प्रविधि प्रयोग गरेर राडीपाखी बुन्न सक्ने भयौँ ।’


गाउँ जानेबित्तिकै त्यहाँका बासिन्दालाई पनि सीप सिकाएर आम्दानी बढाउने लक्ष्य रहेको उनले सुनाए । राडीपाखी र कम्बल बुनेर भेडाको ऊनको सदुपयोग हुने गरेको रावतले जानकारी दिए ।


खसीबाख्राको बर्खल (ऊन)बाट लिउँ, फेरे (ऊनबाट बनेको कार्पेट) बनाउँछन् । ओढ्ने-ओछ्याउने कपडाका लागि स्थानीयलाई अहिले भ्याई-नभ्याई छ । राडीपाखी बुनेर बिक्रीका लागि बजार अभाव नभएको स्थानीय बताउँछन् ।


यस पटक राडीपाखीका अलावा गलैँचा, टोपी, गलबन्दी बुन्न सिक्ने अवसर पनि मिल्यो’, रावत भन्छन्, ‘पहिले गाउँमा परम्परागत राडीपाखी बुन्थ्यौँ । अहिले आधुनिक हिसाबले छिटोछरितो रूपमा ऊनबाट बनाउन सकिने सबै सामग्री बुन्न सक्ने भयौँ । अब ऊनबाट उत्पादित सामग्री बेचेरै आयआर्जन गर्न सकिन्छ ।’


जुम्लाको सबैभन्दा दुर्गम तिला र तातोपानी गाउँपालिकाका वासिन्दालाई राडीपाखी बुनाइ सीप सिकाइएको हो ।


विश्व खाद्य कार्यक्रमका कृष्णबहादुर शाहीले १ महिनामा स्थानीयले सम्पूर्ण बुनाइको काम सिकेको बताए । उनले भने, ‘स्थानीय भेडाको ऊनबाट विभिन्न सामग्री बन्न थाले भने गाउँबासीले भेडापालन गरेरै आम्दानी लिन सक्छन् ।’


अहिले राडीपाखीको बजार मूल्य न्यूनतम ४ हजारदेखि अधिकतम १० हजार रुपैयाँसम्म छ । जुम्ला आउने अधिकांश आन्तरिक पर्यटकले राडीपाखी लैजान्छन् । अब गलैँचा, गलबन्दी, टोपी बुन्न थालेपछि झनै ऊनबाट उत्पादित वस्तुको मूल्य बढ्न सक्ने गाउँबासीको अपेक्षा छ ।

 
‘१ महिने तालिमबाट व्यावसायिक रूपमा राडीपाखी बुन्न सिक्यौँ । सीप सिकेर आत्मनिर्भर बन्ने बाटोमा अग्रसर भयौँ । सहजै रूपमा बजारसम्म लैजान सक्ने भएका छौँ’, रावत भन्छन् ।

 
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख पद्मप्रसाद उपाध्यायले दुर्गम क्षेत्रका वासिन्दालाई राडीपाखी बुनाइ सीपले फाइदा पुर्‍याउने बताए । उनले भने, ‘हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै सीप सिक्नैपर्छ । दुर्गममा भेडापालन पनि हुने गर्छ । यसबाट प्रशस्त ऊन उत्पादन गरेर गाउँबासीले आयस्रोतको गतिलो माध्यम बनाउन सक्छन् ।’


गाउँबासीले व्यावसायिक रूपमा अघि बढ्न उद्योग दर्ता गरेरै ऊनका सामग्री बनाउन सके बजार विस्तारमा सहयोग पुग्ने उनले बताए । 


अहिले क्याप्स कर्णाली परियोजनाले पनि तिला, तातोपानी र हिमा गाउँपालिकाबासीलाई राडीपाखी बुनाइमा सहयोग गरिरहेको छ । पेस नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले सिकेको सीप प्रयोग गर्न सके गाउँबासीले थप आम्दानी लिन सक्ने दाबी गरे । 


उनले भने, ‘अहिले बुनाइमा गुणस्तर आएको छ । गाउँमा गुणस्तरीय सामग्री उत्पादन भए बजारका लागि खासै समस्या छैन’, न्यौपानेले भने ।