close

जनतालाई कामको चटारो, जनप्रतिनिधिलाई आन्दोलनको हतारो

जनतालाई कामको चटारो, जनप्रतिनिधिलाई आन्दोलनको हतारो

Trulli
ADVERTISEMENT

धनुषा- पालिकहरूमा यतिबेला नगरप्रमुख र अध्यक्षलाई जनताको समस्याभन्दा आन्दोलनको चटारो बढी देखिन्छ । प्रमुख, उपप्रमुखहरू पालिकामा कम बस्ने गर्छन् तर आन्दोलन स्थल, विरोधसभामा बढी देखिन्छन् । 

 

आम नगरवासी भौँतारिँदै नगर कार्यपालिकामा ओहोरदोहोर गरिरहन्छन् तर नगरप्रमुख र वडा अध्यक्षको दर्शन दुर्लभ हुन्छ । 

 

पछिल्लो समय राष्ट्रिय रजनीतिमा आएको परिवर्तनले पालिका र वडाहरूमा प्रभाव परेको सहजै देख्न सकिन्छ ।

 

संसद विघटनपश्चात प्रमुख राजनीतिक दल र पार्टीका नेताहरू यतिबेला आन्दोलनको कार्यक्रम र विरोधका तालिका बनाउनमै व्यस्त छन् । 

 

नेपाल कम्युनिस्ट पार्टीभित्रै पनि ओली र प्रचण्ड-माधव खेमा आआफ्नै राग र आलापमा व्यस्त छन् । एकअर्कालाई गाली गर्न र आरोप प्रत्यारोपमै मस्त छन् शीर्ष नेतृत्व । अर्कातिर आमजनता र सेवाग्राही आफ्नो कामको शिलशिलामा  वडा र नगरपालिका पुगेर कार्यालयबाट रित्तो हात फर्किन बाध्य छन् । 

 

वडा अध्यक्ष आन्दोलनको कार्यक्रमलाई मूर्तरूप दिन व्यस्त देखिन्छन् धनुषाका स्थानीय पालिकाहरूमा । 

 

सचिवले कागजात दुरुस्त बनाएर राखे पनि वडा अध्यक्षको हस्ताक्षर नभएर सेवाग्राहीहरू फर्किन बाध्य छन् कार्यालयबाट । जनकपुरधाम उपमहानगरपालिका वडा- ७ मा बिहीबार बिहान ११ बजेसम्म वडा अध्यक्ष सम्पूर्ण वडा सदस्यसँगै २७ पुसको विरोधसभा सफल बनाउने उद्देश्यसहित वडा कार्यालयमै बैठक बसेका थिए ।

 

वडाका नागरिक समाज र जनता समाजवादी पार्टीका नेता कार्यकर्तासँग २७ पुसको विरोध कार्यक्रम सफल बनाउन गम्भीर विमर्शमा जुटेका थिए । एक प्रश्नको जवाफमा वडा अध्यक्ष जानकीराम साहले भने, 'तपाईंले भनेजस्तो होइन हामी जनताको काम पनि गर्छौं तर पार्टीको निर्देशनलाई पनि मान्नुपर्छ भनेर बैठक गरेको हो ।' वडावासीको कुनै काम नरोकेको वडा अध्यक्ष साहको दाबी छ । 

 

शुक्रबार अपराह्न १२ बजे जनकपुरधामको वडा- ९ मा पालिका खबरदाता पुग्दा वडा अध्यक्ष र नेपाली कांग्रेसका नेताहरू २६ गते पार्टीका उपाध्यक्ष आउने विषयमा छलफलमा व्यस्त देखिन्थे ।  शालिक  आनावरण कार्यक्रमको आमन्त्रणपत्र कसलाई दिने र कसलाई नदिने भनेर गम्भीर छलफल गर्दै थिए । कार्ड बाँड्ने जिम्मा कसले लिने भनेर बहस चल्दै थियो ।

 

सेवाग्राही र पार्टी दुवैको काम आफूले हेर्नुपर्ने तर्क वडा अध्यक्ष प्रमेश्वर साहको थियो । उनले भने, 'पार्टीका ठूला नेता आउँदा हामी थोरै व्यस्त हुनुपर्ने नै हुन्छ ।'

 

धनुषाको शहीद नगरमा पनि तत्कालीन माओवादीबाट निर्वाचित प्रमुख उदय बरबरिया यादव दाहाल-नेपाल खेमाको  विरोध कार्यक्रमलाई सम्बोधन गर्दै ओली पक्षमा नजान भन्दै थिए ।

 

छोराको जन्म दर्ता बनाउन पुगेका एक सेवाग्राहीले झन्डै ६ घण्टा कुरेपछि मात्र वडा अध्यक्षले घरमै कागज लिएर आउनुस् भनेको पीडा पोखे । 

 

संसद विघटनपछि अहिले धनुषाका लगभग सबैजसो पालिकाको अवस्था अस्तव्यस्त छ । नागरिकको काम र सेवाग्राहीको पीड़ा हेर्ने फुर्सद निर्वाचित जनप्रतिनिधिसँग कम हुने गरेको स्थानीयको गुनासो छ ।