close

राप्तीमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

राप्तीमा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र

Trulli
ADVERTISEMENT

दाङ- नागरिकलाई आयुर्वेदिक पद्धतिद्वारा उपचार सेवा दिन दाङको राप्ती गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ ।

    
गाउँपालिका कार्यालय मसुरिया, राप्ती आयुर्वेदिक चिकित्सालय तुलसीपुर र प्रादेशिक आयुर्वेदिक चिकित्सालय बिजौरीको पहलमा वडा नम्बर २ को लालमटियामा कविराजसहितको सेवा केन्द्र उद्घाटन गरिएको हो ।

 

निरोगी व्यक्तिलाई रोग नलागोस् र रोग लागिहाले आयुर्वेद चिकित्सा पद्धतिबाट निःशुल्क उपचार गर्न आरोग्य केन्द्र सञ्चालन गरिएको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले बताए ।

 
‘पौराणिक ग्रन्थ, वेदमध्ये अथर्ववेदमा आयुर्वेद चिकित्सा पद्धतिको वर्णन गरिएकाले अन्य चिकित्सा पद्धति भए पनि ती सबैको आधार आयुर्वेद नै हो । यो भरपर्दो पनि हुन्छ । गाउँबासीलाई निःशुल्क सेवा उपलब्ध गराउने गाउँपालिकाको योजना सफल भएको छ’, अध्यक्ष सुवेदीले भने । 

 

नागरिक आरोग्य सेवा केन्द्रमा सबै रोगका बिरामीको चेकजाँच गरिनेछ भने बिरामीको प्रकृतिअनुसार उपचार सेवा उपलब्ध हुनेछ । काया चिकित्सा पेटका रोग, जन्डिस, नाक कान घाँटी, शल्य चिकित्सा, छाती, पायल्स, फिस्टुलालगायत रोगको उपचार गरिने चिकित्सक मदनकुमार बिसीले जानकारी दिए । 

 

देउखुरी उपत्यकामा चौथो र दाङमा पहिलो नागरिक आरोग्य सेवा केन्द्रको रूपमा रहेको यो आरोग्य सेवा केन्द्रले राप्तीबासी तथा वरपरका नागरिकलाई समेट्नेछ ।  राजपुरमा २ वटा र गढवा गाउँपालिकाको गोबरडिहामा एउटा कविराजसहितको आयुर्वेदिक सेवा केन्द्र सञ्चालनमा छ । 


आरोग्य सेवा केन्द्र उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, प्रादेशिक आयुर्बेदिक चिकित्सालयका निमित्त निर्देशक गोकर्ण दाहाल, वडा नम्बर २ का वडाध्यक्ष जगतबहादुर थापा, स्वास्थ्य शाखा संयोजक नारायण राउतलगायत सहभागी थिए ।