close

फोहोरमैला व्यवस्थापनमा जुट्यो हलेसी तुवाचुङ 

फोहोरमैला व्यवस्थापनमा जुट्यो हलेसी तुवाचुङ 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि योजना निर्माण सुरु गरेको छ । नगरपालिकाको वडा नम्बर ७ महादेवस्थानस्थित हलेसी बजारबाट निस्कने फोहोरमैलाको दिगो व्यवस्थापनका लागि नगरपालिकाले योजना बनाउन थालेको हो ।


आर्थिक वर्ष २०७४/७५ मा हलेसी नजिकैको नांगेडाँडामा डम्पिङसाइट निर्माण गरेर फोहोरमैला विसर्जन गरिरहेको नगरपालिकाले फोहोर वर्गीकरण गर्दै पुनर्प्रयोगमा ल्याउने, मल बनाउन सकिने फोहोरलाई मल उत्पादनमा प्रयोग गर्ने योजना ल्याएको हो । 


कार्यविधि नै तयार पारेर हलेसीको फोहोरमैला व्यवस्थापन योजना बनिरहेको नगरप्रमुख इवन राईले बताए । उनले भने, ‘हलेसी आसपासबाट निस्कने फोहोरमैलाको दिगो व्यवस्थापनका लागि स्थानीय संघ-संस्थासँग समन्वय गरेर प्रस्ताव आह्नान गर्छौं । यसबाट सुन्दर हलेसी निर्माण गर्ने लक्ष्य छ ।’ 

 

हलेसीबाट निस्कने फोहोरलाई वर्गीकरण गरिने र सिसाजन्य एवं कबाडी फोहोरलाई पुनप्र्रयोग गर्ने योजना रहेको उनले बताए । फोहोरमैला व्यवस्थापनका विषयमा अन्य स्थानीय तहले अपनाइरहेको विधिलाई समेत अध्ययन गरेर अनुशरण गरिने नगरपालिकाले जनाएको छ । 


नगरपालिकाले सड्ने वा नसड्ने फोहोरमैलालाई बजारमै छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाउने, डम्पिङसाइट जाने बाटो व्यवस्थित बनाउने, टहरा बनाउने, व्यवस्थापनमा खटिने कामदार बस्ने ठाउँ बनाउनेलगायत योजना बनाएको छ । 


हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको त्रि-धार्मिक स्थल हलेसीलाई सफा, स्वच्छ र सुन्दर बनाएर पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले १७ पुस २०७४ देखि फोहोरमैला व्यवस्थापन अभियान थालेको हो ।

 

दैनिक सयौँको संख्यामा पर्यटक तथा दर्शनार्थी आउने हलेसीमा घरायसी, व्यापार, व्यवसाय एवं उद्योगबाट निस्कने फोहोरमैला जथाभावी फाल्ने गरिएकाले फोहोरमैला बढेको जनगुनासो छ । दैनिक हलेसी आउने दर्शनार्थी एवं पर्यटकले फालेका पूजा सामग्रीका कारण पनि हलेसी गुफा र मन्दिर आसपासमा समेत फोहोरमैला हुने गरेको छ । 

 

लाकुरीभञ्ज्याङका खोल्साखाल्सी फोहोरले भरिएको छ । होटल रिट्ठाबोटेबाट लाकुरी भञ्ज्याङ जाने सडकको डिलमुनि भीरमा समेत पाखाभरी फोहोरको डंगुर फाल्ने गरिएको छ ।

 

हलेसीमा २०६५ बाट तीव्र बस्ती विस्तार भएपछि फोहोर बढेको नगरपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष चइन्द्र राईले बताए । ‘२०६२/६३ बाट हलेसीमा घरजग्गा किनबेच सुरु भएको हो’, वडाध्यक्ष राईले भने, ‘२०७० सालबाट बढी मात्रामा बस्ती बाक्लिएपछि फोहोरमैला बढेको हो ।’